काठमाण्डौ । फुटवेयर म्यानुफ्याक्चर एशोसिएशन अफ नेपालको आयोजनामा जुत्ता तथा चप्पलको १३ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । 

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यस प्रदर्शनीमा छालाजुत्ता तथा छालाजन्य वस्तुको साथमा स्वदेशी सिलाई व्यवसायीको उत्पादन पनि प्रदर्शनमा राखिएका छन् । 

सात दिनसम्म चल्ने यस मेलाको समुदघाटन नेपाल सरकारका वाणिज्य सचिव नईन्द्र प्रसाद उपाध्याय र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले संयुक्त रुपमा गरे । 

सचिव उपाध्यायले नेपाली फुटवेयर उद्योग नेपालको ठूूलो सम्भावना भएको उद्योगको रुपमा अगाडि आएको र यसको परिणाम स्वरुप गएको ४ महिनामा यो क्षेत्रले फड्को मारेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले हाल उद्योगमा दक्ष कामदारको अभाव रहेको र सोका लागि सरकारले उद्यौगमैत्री वातावरणका साथै दक्ष कामदार उत्पादनमा विशेष ध्यान दिन सके निजी क्षेत्रले राम्रो प्रगति गर्न सक्ने बताए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पहिलो संस्करणमा जम्मा १२ वटा स्टलबाट सुरु भएको यो प्रदर्शनी आज भव्य बनेको र अब नेपाली फुटवयरको बारेमा समाजका उपल्लो तहका व्यक्तित्व वा ग्राहकलाई समेत आकर्षित गर्नका लागी पाँच तारे होटलमा समेत पाँच मेला आयोजना गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

सोही अवसरमा हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्य, नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घका अध्यक्ष सुरज ब्रजाचार्यले स्वदेशी कच्चापदार्थको प्रयाग गरी उत्पादन गर्ने उद्योगीलाई ऋणमा सहुलियत दिनुपर्ने माग राखेका थिए । 

आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने नाराका साथ सुरु यस प्रदर्शनीमा १२५ वटा व्यापारिक स्टल छन्, जसमध्ये १५ वटा सिलाइ व्यवसायी,  दुईवटा छालावस्तु र बाँकी जुत्ताका स्टल रहेका छन् । यस मेलालाई करिब एक लाखले अवलोकन गर्ने र २ करोड बराबरको कारोबार हुने आयोजको दाबी छ ।