काठमाण्डौ । सन् २०२० मा विश्वभर बेरोजगारको संख्या २५ लाखले बढ्ने प्रक्षेपण गरिएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले हालै सार्वजनिक गरेको प्रतिवेदनले सन् २०२० मा विश्वभर बेरोजगारको संख्या २५ लाख बढ्ने प्रक्षेपण गरिएको हो । हाल विश्वभर विश्वभर १८ करोड ८० लाख मानिस बेरोजगार रहेको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी झन्डै १६ करोड ५० लाख मानिसले आफूले चाहेजति काम गर्न पाएको प्रतिवेदनमा अवगत गराइएको छ । त्यस्तै १२ करोड मानिसले विकल्प नभएका कारण मन नपरेको काममा चित्त बुझाएर बस्नुपरेको पनि प्रतिवेदनमा उल्लेख छ । जसका कारण विश्वभर ४७ करोड मानिस कामकै कारण वा खोजीमा प्रभावित भइरहेका छन् ।

केही वर्षयता विश्व अर्थतन्त्र सुस्त रहेकै कारण रोजगारीमा प्रत्यक्ष असर देखिएको आईएलओको प्रतिवेदनले निष्कर्ष निकालेको छ । जसका कारण विश्व श्रम बजारमा पर्याप्त रोजगारी सिर्जना हुन नसकेको उसको ठहर छ ।

अहिले विश्व बजारमा १५ देखि २४ वर्ष उमेर समूहका २६ करोड ७० लाख युवा बेरोजगार छन् । यसले दिगो विकास लक्ष्य हासिलमा बाधक उत्पन्न हुन सक्ने आईएलओको चेतावनी छ । – एजेन्सी