काठमाण्डौ । उदयपुरको बेलका नगरपालिकाबाट ‘घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान’ को भव्य उद्घाटन गरिएको छ । 

बेलका नगरपालिका–९ स्थित रामपुरबाट शनिबार बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले घुम्ती बिमा राष्ट्रिय सचेतना अभियानको उद्घाटन गरेका हुन् ।

बिमामा आमनागरिकको पहुँच बढाउने उदेश्यले ‘नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस)’ ले देशव्यापी रुपमा सुरु गरेको अभियानको उद्घाटन गर्दै अध्यक्ष चापागाईंले सम्भावित जोखिम बहनका लागि बिमा अपरिहार्य रहेको बताए । 

उनले कृषिलगायत सबै बिमामा आमजनताको पहँच पुर्याउन बिमा समितिले देशभर जनप्रतिनिधिको समन्वयमा काम गरिरहेको जानकारी गराउँदै देशमा बिमाको दायरा १० प्रतिशतबाट बढेर १७ प्रतिशत पुगेको जानकारी गराए । 'घुम्ती बिमा राष्ट्रिय सचेतना अभियानका कारण बिमा समितिको २०–२१ प्रतिशत पुर्याउने लक्ष्यमा सहयोग पुग्ने मेरो विश्वास छ'-उनले भने ।

सरकारले कृषि बिमामा ७५ प्रतिशत अनुदान दिँदै आएको जानकारी बताउँदै अध्यक्ष चापागाईंले २५ प्रतिशत कृषकले बुझाउनुपर्ने प्रिमियममा पनि बेलका नगरपालिकाले ५० प्रतिशत थप अनुदान दिएर कृषकलाई बिमामा प्रोत्साहन गरेर उदाहरणीय कार्य गरेको बताए ।

कार्यक्रममा नेपाल बिमक संघका कार्यकारी सदस्य एवं लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधानले आम नागरिकमा बिमा दाबीसम्बन्धी बुझाइ गलत भएका कारण बिमाको पहुँच विस्तार सहज हुन नसकेको विचार राखे । ‘बिमाको क्षतिपूर्ति दाबी गर्ने बेलामा बिमा कम्पनीहरुले दाबी भुक्तानी गर्न आलटाल गर्छन्, झण्झटिलो बनाइदिन्छ भन्ने हाम्रो गलत मानसिकता छ,’ उनले भने, ‘त्यसैले बिमाको पहुँचमा सबै पुग्न सकिरहेका छैनन् । कागजपत्र पुगेपछि दाबी भुक्तानी सहजै हुन्छ । त्यसैले बिमा गरेको छैन भने ढिलाइ नगरौँ ।’

कार्यक्रममा बिमा विज्ञ श्रीमान कार्कीले सबैको समृद्धिका लागि बिमाको आवश्यकता रहेको बताए । उनले जोखिम व्यवस्थापनको मूल आधार बिमा भएकाले सबैले अनिवार्य रुपमा बिमा गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले सरकारले मुलुक समृद्धिको सपना देखेको छ । जोखिम बहन हुने अवस्था नभएसम्म समृद्धिको आधार तयार हुन सक्दैन । त्यसैले मुलुकको समृद्धि र लगानीको सुरक्षाका लागि पनि बिमाको आवश्यकता छ ।’

कार्यक्रममा प्रभु लाइफ इन्स्योरेन्सका निमित्त कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले जनचेतनाको अभावमा बिमाको पहुँच सर्वसाधारणसम्म पुग्न नसकेको बताए । ‘हामीले बिमा के हो भन्ने कुरा बुझाउन सकेका छैनौँ । बिमा हाम्रै लागि हो भन्ने विषय सबैले बुझ्न नसक्नु ठूलो समस्या हो ।’

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीका नायब महाप्रबन्धक विक्रन्त पाण्डेले बिमा गर्दा कुनै पनि व्यक्तिले दोस्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने भएकाले बिमा गर्दा बिमितलाई कहिल्यै घाटा नहुने बताए । उनले भने, 'बिमा गर्दा बिमितलाई कुनै घाटा छैन, बरु उल्टै फाइदै फाइदा छ ।’

कार्यक्रममा बेलका नगरपालिका–९ का अध्यक्ष मोहन घिमिरेले बेलका नगरपालिकाले कृषकलाई बिमामा सरकारले दिँदै आएको अनुदानमा थप ५० प्रतिशत अनुदान दिने गरेको जानकारी दिए । उनले बिमामा सबै नगरबासीको पहुँच पुर्याउन कृषकले बुझाउनुपर्ने बिमा शुल्कमा नगरपालिकाले ५० प्रतिशत अनुदान दिएको बताए ।

कार्यक्रममा एनसिसकी अध्यक्ष लक्ष्मी श्रेष्ठले बिमा सचेतना बढाउने, बिमाको पहुँचबाहिर रहेका नागरिकलाई बिमाको पहुँचमा ल्याउने, बिमा लक्षित सरकारी योजनामा सहयोग पुर्याउने र सामाजिक सुरक्षा प्रवद्र्धन गर्ने उद्देश्यले बेलका नगरपालिकबाट सुरु गरिएको अभियान सातै प्रदेशमा सञ्चालन गरिँदै लगिने जानकारी दिइन् । करिब ५५ हजार जनसंख्या रहेको उक्त नगरपालिकाका बहुसंख्यक नागरिकले बिमा साक्षरताको अभावमा बिमा नगरेको पाइएकाले सोही ठाउँबाट अभियानको सुरुवात गरिएको उनको भनाइ छ ।

कार्यक्रममा एनसिसका निर्देशक डुण्डुराज आचार्य(डीआर)ले बेलकाबाट सुरु भएको अभियानले देशभरबाट विदेशिएका युवाशक्तिलाई घर फर्किन र स्वरोजगार बन्न प्रेरित गर्ने बताए ।'अरू नै कसैले जोखिम बहन गरिदिने भएपछि डेढ लाख खर्च गरेर विदेशिनुभन्दा स्वदेशमै आय आर्जनका बाटा खोज्न यस्ता अभियानले युवालाई प्रेरित गर्ने हाम्रो विश्वास छ' -उनले भने ।

पहिलो चरणअन्तर्गत धुनषाको सबैला नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका, सप्तरीको सप्तकोशी नगरपालिका, सुनसरीको इनरुवा नगरपालिका, मोरङको कोशी हरैँचा नगरपालिका, झापाको कनकाई नगरपालिका, काभ्रेको पनौती नगरपालिका र धादिङको रि गाउँपालिकामा कार्यक्रम गरिनेछ । नेपालमा बिमा सेवा सुरुवात भएको ६८ वर्षसम्म कुल जनसंख्याको ७ प्रतिशतमात्र नागरिक बिमाको पहुँचमा थिए । दुई वर्षयता १० प्रतिशत वृद्धि भएर पुससम्ममा १७ प्रतिशत पुगेको छ । बिमा समितिमा आएको नयाँ नेतृत्वले गरेका संरचनागत तथा प्रक्रियागत सुधारका कारण बिमाको दायरा दुई वर्षमै १४३ प्रतिशत बढेको हो ।

अभियानको सुरुवात सचेतना र्यालीबाट गरिएको थियो । र्यालीले सो वडाको विभिन्न भागको परिक्रमा गरी कार्यक्रम स्थलमा पुगेको थियो । र्यालीमा स्थानीय, विद्यार्थी, अगुवालगायतको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा एनसिसद्वारा प्रकाशित ‘बिमा चिनारी’ पुस्तकको विमोचनसमेत गरिएको छ ।

कार्यक्रममा इटहरीस्थित स्वदेशी लघुवित्त वित्तिय संस्थाका कलाकारले बिमासम्बन्धी जनचेतनामूलक नाटक प्रस्तुत गर्नुका साथै चर्चित हास्यकलाकार मनोज गजुरेल र गायक बाबु बोगटीले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । कार्यक्रममा झण्डै ५ हजारको सहभागिता थियो ।