काठमाण्डौ । अनुसन्धानकर्ताले बेलायतको करीब ६ प्रतिशत मानिसलाई कोरोना संक्रमण भएको हुनसक्ने बताएका छन् । बेलायतमा अहिलेसम्म ३ लाख १३ हजार ७९८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यो बेलायतको कुल जनसंख्याको ०.५ प्रतिशत मात्रै हो । 

तर एक अध्ययनअन्तर्गत कोरोनाभाइरसको एन्टीबडीका लागि बेलायतभर गरिएको १ लाखभन्दा धेरै परीक्षणमा त्यहाँका करीब ६ प्रतिशत मानिसलाई कोरोना संक्रमण देखिएको जनाइएको छ । त्यस्तै अध्ययनमा करीब ३४ लाख मानिसहरु जुन महिनाको अन्त्यसम्ममा नै संक्रमित बनिसकेको उल्लेख गरिएको छ । 

यो अध्ययनको नतिजा अन्य सर्वेक्षणसँग मिल्दोजुल्दो छ । बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले गरेको सर्भेमा दैनिक परीक्षणको तथ्यांकभन्दा समुदायमा कोभिड १९ को स्तर निकै माथि रहेको जनाइएको छ । 

अध्ययनमा स्वास्थय सेवा तथा हेरचाहमा संलग्न स्वास्थ्यकर्मीहरुलाई पहिले नै कोरोना संक्रमण लागिसकेको हुन सक्ने सम्भावना एकदमै धेरै देखिएको छ । लण्डनमा सबैभन्दा धेरै संक्रमण हुन सक्ने जनाइएको छ । लण्डनका करीब १३ प्रतिशत मानिसहरुमा एन्टीबडि भेटिएको छ ।