काठमाण्डौ । अहिले हजारौं नेपाली युवाहरु खाडी मुलुक जान समेत आतुर र संघर्ष गरिरहेका छन् । तर वेलायत जस्तो युरोप पुगेका एक नेपाली युवा भने स्वदेश फर्केर व्यवसाय गर्न थालेका छन् । 

उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका वडा नं. १० हँडिया घर भएका सन्तोषसिंह कार्कीले काठमाडौंको मनहरा फाँटमा लन्ड्रीपार्क नामक व्यवसायिक लन्ड्री सेवा उद्योग सञ्चालनमा ल्याएका छन् । 

बेलायतको आकर्षक तलब समेत छाडेर ७ बर्षपछि नेपाल फर्केका उनी आफ्नै देशमा केही गर्न चाहेको बताउँछन् । 

तीनजना युवाहरू मिलेर सञ्चालनमा ल्याएको उक्त लन्ड्री पार्कमा अहिल ७५ लाख लगानी रहेको छ । उनलाई यो उद्योग स्थापना गर्न सुनसरीका दुई युवाहरु प्रविण पोखरेल र सुरज बस्नेतले साथ दिएका छन् । 

दुई मध्ये एक सुरज बस्नेत पनि बैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्ति हुन । उनी केही बर्ष त्यहाँ काम गरेर नेपाल फर्केका थिए । स्वदेशमै गर्दा केही हुन्छ भन्ने मान्यताले आफूले पनि विदेश त्याग गरेर यो उद्योग स्थापना गर्न होमिएको बस्नेत बताउँछन् । 

अर्का युवा प्रविण पोखरेलको साथले पनि विदेश छाडेर आएका दुई युवालाई उद्योग स्थापना गर्न हौस्याएको छ । ‘हामी तिनै जनाको आत्मिय सम्बन्धलाई व्यवसायमा परिणत गरेका हौं ।’ उनले भने– ‘हामी तीनजनाको सामूहिक प्रयासले लण्ड्रीपार्कलाई एउटा नेपालकै नमुना उद्योगको रूपमा परिणत गर्नेछौं ।’

कपडा धुलाईसँग सम्बन्धित यो उद्योगमा अहिले अमेरिकामा निर्मित तीन वटा आधुनिक कमर्सियल वासिङ्ग मेसिन रहेको छ । त्यसमध्ये एउटा भने वेट क्लिन मेशिन रहेको छ । प्रिमियम कपडाहरूलाईसुरक्षित तरिकाबाट धुने उक्त वेट क्लिन मेशिन नेपालमा पहिलोपटक आफूहरूले नै भित्र्याएको उनीहरूले दाबी गरेका छन् । 

उनीहरूले आफ्नो सेवालाई पारदर्शी बनाएका छन् । ग्राहकका आँखै अगाडि कपडाको धुलाई गरेर दिने तरिकाबाट उद्योग स्थापना गरिएको छ । 

‘ग्राहकको कपडा उनीहरूकै आँखै अगाडि तत्कालै धुलाई गरेर दिने हामीसँग प्रविधियुक्त स्रोत, साधन र दक्ष जनशक्ति छन ।’ सञ्चालक कार्कीले भने– ‘केही समय लाग्ने भयो भने पनि हामीले ग्राहकहरूको समय सदुपयोगका लागि उद्योग परिसरमा ‘फ्री वाईफाई’ को व्यवस्था गरिदिएका छौं ।’ 
ग्राहकलाई लक्षित गरेर उद्योगभित्रै चिया, कफी र चिसो पिउने व्यवस्थाको सोचमा समेत आफूहरू रहेका उनले बताए । 

त्यसैगरी निश्चित रकम तिरेर ग्राहकहरू आफैंले पनि सेवा लिन सकिने व्यवस्था संस्थाले मिलाएको छ । संस्थामा गएर ग्राहकहरूले आफैंले कपडा धुलाउन पाउन व्यवस्था रहेको यो पहिलो संस्था हो ।  

हाल दुईवटा कलेक्सन सेन्टर स्थापना गरिसकेको लन्ड्रीपार्कले धुने कपडा ल्याउन र पुर्याउनका लागि भ्यानको समेत व्यवस्था गरेको छ । 

लन्ड्रीपार्कले सर्वसाधारणको अतिरिक्त व्यवसायिक संस्थाहरू जस्तै मेशिन नभएका ड्राई क्लिनर्स, होटल, स्कूल, कलेज, बैंक, फाइनान्स, इन्स्योरेन्स, एयरलाइन्स र सहकारीका युनिफर्महरूलाई समेतलाई आफ्नो सेवा लक्षित गरेको छ । सहुलियत ढंगबाट कपडा धुने व्यवस्था रहेको उक्त संस्थाहरूको कपडा पु¥याउने र ल्याउने व्यवस्था समेत गरेको उनीहरूले जानकारी दिएका छन् ।

‘यो क्षेत्रमा हामी नयाँ नै हौं, तर पनि हामी नयाँ तरिकाका साथै जिम्मेवार र व्यवसायिक ढंगवाट ग्राहकलाई सेवा दिन्छौं ।’ उनीहरूले भने– ‘ग्राहकको सन्तुष्ठि नै हाम्रो सफलता हो ।’ सेवाको शिलशिलामा कपडामा कुनै किसिमको हानी पुगेको खण्डमा नयाँ कपडा बराबरकै मूल्य फिर्ता गरिदिने व्यवस्था समेत रहेको उनीहरूले बताए ।   

लन्ड्रीपार्कमा लगानी बढाउँदै र यसको गुणस्तरीय र प्रभावकारी सेवालाई देशव्यापी बनाउने योजनामा उनीहरू रहेका छन् । लन्ड्रीपार्कलाई यो क्षेत्रकै एउटा नमुना र प्रतिष्ठित ‘ब्राण्ड’को रूपमा विकास गर्दै सेवालाई देशका प्रमुख शहरहरूमा चाँडै पुर्याउने लक्ष्य राखिएको छ । 

त्यस्तै पर्यटकहरुलाई लक्षित गरेर सूचना प्रविधिको भरपुर प्रयोग सहित नेपालमै पहिलो पटक प्रविधिसहितको अत्याधुनिकता समेत भित्र्याउने योजनामा लन्ड्रीपार्क रहेको छ । 

हाल यो उद्योगमा ५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । 

स्वदेशमै उद्यम गर्दा मुलुकमा आर्थिक गतिविधि पनि बढ्ने र केहीलाई रोजगारी समेत दिने सकिने भएकाले पनि उनीहरू स्वदेशमै उद्यम गर्न चाहेको बताउँछन् । विदेशबाट फर्केका युवाहरूलाई उद्यम गर्न सरकारले प्रोत्साहित नीति ल्याएकाले पनि आफूहरू विदेशको आकर्षक तलब छाडेर स्वदेशमै उद्यम गर्न हौसिएको बताए । 

व्यवसायलाई विस्तार गर्न आफूले पनि सरकारको नीति अनुसार कर्जाको लागि बैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा निवेदन दिएको सञ्चालक कार्कीले बताए । त्यस्ता युवालाई विना धितो १५ लाखसम्म सस्तो व्याजदरको कर्जा उपलब्ध गराउने सरकारले नीति अघि सारेको छ । तर सरकारले ल्याएको त्यस्तो नीति र योजनामा लक्षित वर्गको सहज पहुँच हुनुपर्ने लन्ड्री पार्कका सञ्चालक कार्की बताउँछन् ।  

आर्थिक आर्जनको दृष्टिले युरोपको कमाईसँग नेपालको कमाईको तुलना नहोला तर, नेपाली हुनुको दायित्व पूरा गर्न पनि आफूहरूले स्वदेशमै केही गर्नुपर्ने कार्कीको धारणा छ । ‘वेलायतमा बस्दा धेरै सिर्जनशील नेपाली युवाहरू मैले देखे र भेटे तर, उनीहरूलाई युरोपको हावापानी र सुविधाभोगीले छुईसकेको छ । अब उनीहरू नेपाल फर्कने संभावना निकै कम छ ।’ कार्कीले भने– ‘नेपाल, नेपालीको माया र नेपाल प्रतिको दायित्व उनीहरूमा रहेको म देख्दिन, उनीहरूले नेपाललाई लगभग विर्सिसकेका छन् ।’ 

आफ्नो मान्यता र प्राथमिकता भने स्वदेशमै केही गर्नुपर्छ भन्ने रहेको कार्कीको भनाई छ । त्यसैले साथीहरूसँग मिलेर यो नयाँ व्यवसाय सुरू गरेको उनले बताए । लन्ड्रीपार्कलाई नमुना व्यवसाय बनाएर वेलायतका साथीहरूलाई सुनाउन आतुर रहेको सञ्चालक कार्की बताउँछन् ।