काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति तय गरेका छन्। 

दुवै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो। 

बेस्ट फाइनान्सको २३ औँ वार्षिक साधारणसभा आउँदो असार १८ गते काठमाण्डौको कमलादीस्थित केन्द्रीय कार्यालयमा डाकिएको छ। 

सभाका लागि कम्पनीले असार ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब सभामा भाग लिन असार २ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ।

त्यस्तै सिद्धार्थ इन्स्योरेन्सले १८ औँ वार्षिक साधारणसभा असार १३ गते काठमाण्डौको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा आयोजना गर्ने निर्णय गरेको छ। यसअघि कम्पनीले गत चैत २८ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो। तर कोरोना महामारीका कारण उत्पन्न असामान्य परिस्थितिका कारण उक्त मिति गर्ने भनिएको सभा कम्पनीले स्थगित गरेको थियो।