काठमाण्डौ । अचानक बेहोस भई शौचालयमा लडेका उर्जामन्त्री वर्षमान पुनको स्वास्थ्य अवस्थामा सुधार भएको छ । 

नर्भिक अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्थामा निकै सुधार भएको अस्पताल स्रोतले जनाएको छ । 

उनको केहीबेरअघि इइजी जाँच भएको छ । यसले नशाहरुले सही ढंगले काम गरेको छ कि छैन भन्ने कुरा पत्ता लगाउँछ । 

इइजी रिपोर्टमा खासै खराबी नदेखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 

केही समयपछि सिटी एमआरआई समेत गर्ने चिकित्सकहरुको योजना छ । 

उर्जामन्त्री पुनमा उच्च रक्तचाप, कोलेस्ट्रोल लगायतका समस्या देखिएका छन् । 

श्वासप्रश्वासमा पनि सामान्य समस्या देखिएको बताइएको छ । थाइराइड समेत बढेको अस्पताल स्रोतले जनाएको छ । 

के कारणले उर्जामन्त्रीलाई यस्तो भएको होला त ?

‘ब्लडप्रेसर तलमाथि हुँदा मुटुमा समस्या आउँछ । केही हर्मोनहरुको लेभल तलमाथि भएर समेत यस्तो समस्या हुन्छ । अर्को, स्ट्रेस लेभल हाई भयो भने पनि यस्तो समस्या आउँछ ।’ अस्पतालका चिकित्सकले भने–‘उहाँलाई समेत स्ट्रेस हुने कुनै कुराले समेत यस्तो भएको हुनसक्छ ।’ 

उर्जामन्त्री पुनलाई मुटु बाहेकका अन्य विशेषज्ञ डाक्टरहरुले समेत पालै पालो हेरिसकेका छन् । यादवदेव भट्ट, मधु घिमिरे, डा. जलान लगायतले जाँच गरिसकेका छन् । अत्तालिनुपर्ने अवस्था नरहेको स्रोत बताउँछ । 

‘अहिले उहाँको हृदयगति ठीकै छ । उहाँ नर्मलतर्फ उन्मुख हुनुहुन्छ ।’–अस्पताल स्रोतले भन्यो । 

उर्जामन्त्री पुन बिहीबार साँझ निवासकै शौचालयमा एक्कासी बेहोस भई लडेपछि उपचारका लागि नर्भिक अस्पताल पुर्याइएको थियो । त्यहाँ ल्याइएको केही समयपछि उनको होस खुलेको थियो । 

अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले मुटु र श्वासप्रश्वासमा समस्या देखिएको बताएका थिए ।