काठमाण्डौ । पछिल्लो समय नेपालमा पनि बैंक ग्राहकहरुलाई क्रेडिट कार्ड बनाउन भन्दै विभिन्न अफरसहित फोनकलहरु आउने गर्छन् । म्यासेज पनि उत्तिकै आइरहेको हुन्छ । यस्तै कल र म्यासेजबाटै पछिल्लो समय ‘बैंक फ्रड’का घटना समेत बढिरहेका छन् । यसको अर्थ प्रत्येक कल आधिकारिक नहुन सक्छ । तर, तपाईलाई क्रेडिट कार्ड बनाउन अत्यावश्यक छ नै भने पनि यस्तो बेलामा केही विशेष कुराहरुमा चनाखो बन्नु पर्दछ । जसले तपाईलाई क्रेडिट कार्डको अफर गर्दै कल गर्छ, उसलाई केही महत्वपूर्ण कुराहरु सोध्नुहोस् । यस्तो प्रश्न सोध्नुभयो भने तपाईले संभावित जोखिम बहन गर्नुपर्दैन र क्रेडिट कार्ड तपाईका लागि घाँडो बन्दैन।  

माग्नुहोस् अफरको प्रमाण
यदि तपाईलाई पनि क्रेडिट कार्डका लागि भनेर बैंकको फोन नम्बरबाट बारम्बार कल आइरहन्छ वा इमेल आइरहन्छ भने यस्तो फोन वा इमेल गर्नेले तपाईलाई दिइरहेको अफरलाई विशेष ध्यान गरेर पढ्नुहोस्÷बुझ्नुहोस् । कतिपय मानिस दिइएको अफरलाई पूरा नपढी हतारोमा क्रेडिट कार्ड बनाउनतर्फ लाग्छन्, यो गलत प्रवृति हो । हतारोमा अफरलाई स्वीकार गरी कार्ड बनाउनेहरुले पछि मात्र थाहा पाउँछन् कि सही बैंकबाटै आएको अफर पनि उसको वित्तीय योजनामुताबिकको रहेनछ वा नमिल्दो रहेछ । यस्ता अफरहरुमा कार्ड निःशुल्क उपलब्ध हुने बताइन्छ । कुनै वार्षिक शुल्क समेत लाग्दैन पनि भनिएको हुन्छ । यदि कसैले यस्तै अफर दिइरहेको छ भने उसँग प्रमाण चाहि माग्न नभुल्नुहोला र अफरको लिखित कपी समेत लिन नबिर्सनुहोला । किनभने धेरै बैंकले यस्ता अफरको गफ हानेर तपाईलाई लालच बाँड्छन् र क्रेडिट कार्ड बनाइसकेपछि स्टेटमेन्टसँगै शुल्क पनि लगाएर बिल पठाइन्छ वा तपाईको पैसा काटिन्छ । 

आफूलाई आवश्यक कार्ड

बैंकका प्रतिनिधिहरुको एउटै उद्देश्य हुन्छ, कसरी बढीभन्दा बढी कार्ड बिक्री गर्ने भन्ने । यसका लागि ग्राहकहरुलाई अनेकथरि अफर बताइन्छ । तर, तपाईलाई थाहा हुनुपर्छ कि दिइएको अफरभन्दा केही फरक कुन प्रकृतिको कार्ड तपाईलाई आवश्यक परेको हो । मानौं कि तपाईलाई एक सपिङ कार्ड चाहिएको छ, जसमार्फत सपिङ गर्दा राम्रो रिवार्ड पनि प्राप्त हुन्छ, तर कार्ड बिक्री गर्ने प्रतिनिधिले तपाईलाई एक लाइफस्टाइल कार्डको ठाउँमा अर्कै कार्ड बेचिरहेको हुनसक्छ । त्यसो हो भने तपाईले खोजेको कार्ड त्यो होइन, किनभने त्यस्तो कार्डबाट तपाईले भरपूर फाइदा लिन सक्नुहुन्न । 

हतारोमा हस्ताक्षर गर्ने भूल
तपाईलाई कार्ड आवश्यक नै छ भने पनि हतारो बिल्कुल नगर्नुहोस् । भनिएको अफर सुनेकै भरमा कार्ड लिने प्रक्रिया सुरु गर्नुहुन्न । तपाईलाई फोन आएपछि सो व्यक्तिले आफ्नो प्रतिनिधिलाई भेट्न पठाउँछु भन्छ, तपाईले सकारात्मक प्रतिक्रिया जनाएलगत्तै उसले कार्ड बनाउने प्रक्रिया सुरु गर्छ । तसर्थ तपाई आफू सहमत नभएसम्म कुनै पनि बैंकका प्रतिनिधिलाई कागजात संकलनका लागि हतारोमा नबोलाउनुहोस् । बैंकले पहिला तपाईको क्रेडिट हिस्ट्री चेक गर्छ । यसैलाई ‘हार्ड इन्क्वाइरी’ समेत भनिन्छ । यो प्रक्रिया तब सुरु हुन्छ, जब तपाईले क्रेडिट कार्डको आवेदनमा हस्ताक्षर गर्नुहुन्छ । त्यसकारण सबैभन्दा पहिला आफ्ना लागि कुन चाहि कार्ड आवश्यक हो भन्ने कुरा निश्चित गरेर मात्रै यस्ता कागजातमा हस्ताक्षर गर्ने गर्नुहोस् । 

वार्षिक र नवीकरण चार्ज चेक गर्नुहोस्
तपाईलाई क्रेडिट कार्ड लाइफटाइमभर फ्री प्राप्त हुन्छ भन्ने अफर आएको हुनसक्छ । यसको अर्थ हो तपाईले कार्डका लागि कुनै पनि अतिरिक्त शुल्क तिरिरहनु पर्दैन । प्राय चार्ज हाई एण्ड प्रिमियम कार्डमा लाग्छ, जसमा धेरै सुविधा र विशेषता हुन्छ । तर, यस्ता कार्डमा समेत कहिलेकाही वार्षिक छुट दिइएको हुन्छ । यदि तपाईले पाउँदै गरेको छुट लाइफटाइमको हो भने कार्ड लिनुभन्दा अगाडि यो विषय समेत राम्रोसँग जाँच गर्नुहोस् ।

ब्याजदर पनि जाँच्नुहोस्

जब तपाई कुनै सामान खरीद गरी त्यसको भुक्तानी क्रेडिट कार्डबाट गर्नुहुन्छ, तपाईका लागि पैसा फिर्ता गर्ने केही दिन समय दिइएको हुन्छ, जसको कुनै ब्याज लाग्दैन । तर, यदि तोकिएको समयमा तपाईले भुक्तानी गर्नुभएन भने त्यसमा बैंकले भारी ब्याज लगाउँछ । यो ब्याज वार्षिक रुपमा ३० प्रतिशतसम्म पनि हुनसक्छ । त्यसकारण तपाईले जुन कार्ड लिइरहनुभएको छ, त्यसको ब्याजदर कति छ भन्ने कुरा राम्रोसँग जाँच्नुहोस् ।

पेनाल्टीमा पनि ध्यान दिनुहोस्

क्रेडिट कार्डको प्रयोग गरिरहनुभएको छ भने यसमा लाग्ने शुल्क र जरीवाना देखेर नअत्तालिनुहोस् । यस्ता विषयलाई बुझ्न आवश्यक छ । 
एटीएमबाट नगद निकाल्न क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छ भने यसका लागि तपाईले शुल्क तिर्नुपर्ने हुन्छ । 

लिमीटभन्दा बढी खर्च गर्नुृहुन्छ भने यसमा समेत भारी शुल्क लाग्छ । 

विदेशमा यदि कार्डको प्रयोग गर्नुहुन्छ भने फोरेक्स चार्ज लाग्नसक्छ । 

त्यसकारण यस्तै सबै चार्ज तथा पेनाल्टीको विषयमा राम्रोसँग जानकारी लिनुहोस् । 

यस्ता कार्ड लिँदा राम्रोसँग अध्ययन गरेर मात्र आफू अनुकुलको फिचर भएको कार्ड मात्र लिनुपर्छ । एक दिन ढिलो कार्ड लिनु तपाईले भविष्यमा व्यहोर्नुपर्ने नोक्सानी अन्तको बाटो हुनसक्छ ।