काठमाण्डौ । युग डिजिटाइज्ड भएसँगै मानिसले सुविधा पाएका छन् । तर, सुविधासँगै जोखिम पनि बढिरहेको छ । डिजिटाइज्ड युगमा ठगहरुको साम्राज्य समेत उस्तै गरी बिस्तार भइरहेको छ । ठगीको नयाँ–नयाँ शैलीका कारण सर्वसाधारण जोखिममा छन् । 

पछिल्लो समय नेपालको बैंकिङ क्षेत्र समेत तीव्र डिजिटाइज्ड हुँदै गएको छ । तर, यो सँगै बैंकिङ ठगीको घटना समेत बाहिर आइरहेका छन् । कतिपय बैंकहरुले ग्राहकप्रति जिम्मेवार बन्दै डिजिटल कारोबारमा हुने ठगीबाट बच्न विभिन्न टिप्स समेत जारी गर्ने गरेका छन् । तर, डिजिटल बैंकिङमा भर्खर–भर्खर अगाडि बढ्न खोजेका नेपालका बैंकहरुबाट डिजिटल कारोबार गर्दा ग्राहकले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

हिजोआज नयाँ खालको बैंकिङ फ्रड भइरहेको खोजहरुले देखाएका छन् । बैंकिङ उद्योगकै लागि नयाँ थ्रेट बनिरहेको छ–सीम स्वापको माध्यमबाट हुने आक्रमण र बैंकिङ ठगी । यो एउटा यस्तो अपराध हो, जहाँ ठगहरुले तपाईको बैंक अकाउण्ट ह्याक गर्नका लागि तपाईको नामबाट सीम तयार गर्छन ।

कसरी हुन्छ ठगी ?

  • यसको माध्यमबाट ठगहरुले तपाईको रजिष्टर्ड मोवाइलको ठाउँमा दोश्रो सीम इस्यू गर्छ ।
  • सो मोवाइल नम्बरको माध्यमबाट उसले वन टाइम पासवर्ड(ओटीपी) प्राप्त गर्छ र तपाईको सबै निजी जानकारी उसको नियन्त्रणमा पुग्छ ।
  • यसपछि उसले धोकाधडी गरी तपाईको बैंक अकाउण्ट वा कार्डबाट पैसा निकाल्छ ।

सीम स्वाप फ्रडबाट बच्न के गर्ने ?

  • यदि तपाईको मोवाइल नम्बरले केही घण्टाका लागि काम गर्न छाड्यो भने तुरुन्त आफ्नो सर्भिस अपरेटरसम्म पुगेर यसको कारण पत्ता लगाउनुहोस् ।
  • तपाईको सीमको पछाडिपट्टि रहेको २० अंकको नम्बर कसैसँग पनि सेयर नगर्नुहोस् । कसैले तपाईको यो नम्बर चोर्ने संभावनाको विषयमा समेत सचेत बन्नुहोस् ।
  • जुन मोवाइल नम्बरबाट तपाईको बैंक र अर्को खाता लिंक हुन्छ, त्यसलाई कहिल्यै पनि सोसल मिडिया नेटवर्कमा डिस्प्ले नगर्नुहोस्।
  • आफ्नो बैंकमा  गएर इन्स्टेन्ट बैंक अलर्टमा गएर सूचिकरण हुनुहोस् ।
  • यदि कुनै अञ्जान फोन वा इमेलमा तपाईको  बैंक अकाउण्ट वा मोवाइल नम्बरको डिटेल मागिएको छ भने कहिल्यै नबताउनुहोस्।

यी सावधानी अपनाएर तपाईले सुरक्षित बैंकिङ सेवाको फाइदा उठाउन सक्नुहुन्छ । याद राख्नुहोस् सडकमा गाडी कुदाउँदा समेत सावधानीको आवश्यकता पर्छ, नभए दुर्घटना हुनसक्छ, तर दुर्घटनाको डरले हामी गाडी नै चलाउन बन्द गर्न त सक्दैनौ । हो, यस्तै हिसाबले डिजिटल बैंकिङ तपाईको सुविधाका लागि हो । यसको भरपूर प्रयोग गर्नुहोस्, तर पूर्ण सावधानीसहित ।