काठमाण्डौ । संभावित जोखिम व्यवस्थापन कोषबाट १० करोड बढी राइट ब्याक गर्दा समेत नेपाल बंगलादेश(एनबी) बैंक लिमीटेडले खूद नाफा बढाउन सकेन । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ५० लाख खूद नाफा कमाएको चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ४० लाख मात्र नाफा कमाउन सकेको हो । 

नेपाल बैंकर्स संघका नेताहरुले नेतृत्व गरेका बैंकहरु नै कमजोर देखिएका हुन् । अध्यक्ष अनिलकेशरी शाहले नेतृत्व गरेको मेगा बैंकले केही दिनअघि अत्यन्त कमजोर विवरण प्रकाशित गरेको थियो । संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेतृत्व गरेको बंगलादेश बैंकको प्रगति समेत सन्तोषजनक नभएको हो ।

नाफामा उल्लेख्य वृद्धि गर्न नसकेका कारण बंगलादेश बैंकको प्रतिसेयर आम्दानीतर्फ निकै ठूलो पहिरो गएको छ । अघिल्लो वर्षको यही अवधिमा वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) २२ रुपैयाँ रहेकोमा घटेर यो वर्ष ८ रुपैयाँमा सीमित बन्न पुुगेको छ । 

गत वर्ष महंगोमा लिएको निक्षेपको ब्याज खर्च तिर्दा खूद ब्याज आम्दानीतर्फ पनि निकै ठूलो गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३२ करोड ९४ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी घटेर समीक्षा अवधिमा २० करोड २४ लाखमा सीमित बन्न पुुगेको छ । 

यो अवधिमा बैंकले ४२ अर्ब २२ करोड निक्षेप संकलन गरी ३८ अर्ब ७१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ३९ अर्ब ६० करोड निक्षेप संकलन गरी ३४ अर्ब २७ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षको यही अवधिमा २ अर्ब २५ करोड रुपैयाँ रहेको जगेडाकोष बढेर २ अर्ब ५० करोड पुुगेको छ । 

बैंकले १.१६ प्रतिशत रहेको निस्क्रिय कर्जालाई घटाएर ०.७३ प्रतिशतमा झारेको छ । ४.१८ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ७.९६ प्रतिशत पुुगेको छ भने १४.३७ प्रतिशत रहेको इक्वीटीमा प्रतिफल घटेर ५.८२ प्रतिशतमा सीमित बन्न पुुगेको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४ गुणा कायम भएको छ ।