काठमाण्डौ । नेपाल बैंकर्स संघ(एनबिए)का अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले अस्वभाविक रुपमा घटेको बजारले पिकअप लिन अब केही साता मात्र कुर्नुुपर्ने दाबी गरेका छन् । 

बिजशालालाई विशेष अन्तर्वार्ता दिने क्रममा अध्यक्ष ढुंगानाले अब केही साताभित्रै सरकारले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने र त्यो बेलासम्म बजारमा ठूलो परिवर्तन नआउने दाबी गरे । 

‘केही समयसम्म त बजार यस्तै होला ।’ उनले भने–‘लगानीकर्ताको मनोबल निकै गिरेको छ, यसलाई उकास्न आगामी बजेटले नै केही सम्बोधन गर्नुपर्ने हुन्छ । बजेटपछि चाहि बजारले पिकअप लिनसक्छ ।’

अध्यक्ष ढुंगानाले नेपालको सेयर बजार ह्वीमको भरमा चल्ने गरेको उल्लेख गर्दै यस्तो बेलामा लगानीकर्ताले सम्हालिएर स्वविवेकी निर्णय लिनुपर्नेमा जोड दिए । ‘१८०० मा पुुगेको सेयर बजार ११०० मा आइसकेको छ, यो नहुनुपथ्र्यो ।’ उनले थपे–‘लगानीकर्ताको गिरेको मनोबल उकास्न सबैतिरबाट पहल हुन आवश्यक छ ।’ 

बजार घटेर कतिपय कम्पनीहरुको सेयरमूल्य नेप्से परिसूचक ३०० को विन्दूमा हुँदाको अवस्थामा खुम्चिएको उल्लेख गर्दै उनले बजार घटिरहनुुमा लगानीकर्ताको कमजोर मनोबल नै मुख्य कारण रहेको समेत दोहोर्याए । ‘अहिले बजारमा सूचिकृत कम्पनीहरुले आनन्दले १५–२० प्रतिशत रिटर्न दिने अवस्था छ, यस्तोमा बजार यति धेरै घट्नुुपर्ने अन्य ठूला कारण नै देख्दिँन ।’ ढुंगानाले भने–‘अहिले लगानीकर्ताले सरकार र सरोकारवालाबाट केही बिषयमा सुनिश्चितता खोजेका छन् ।’ 

खुल्ला बजार अर्थतन्त्रमा सरकारले पनि निरन्तरता दिन्छ भन्ने सुनिश्चितता खोजेका र त्यो सुनिश्चितता श्वेतपत्रमार्फत केही आएको र भोलिका दिनमा बजेटबाट पनि केही आउने आशा गर्न सकिने उनको भनाई छ । 

चलखेलले हो ?
ढुंगानाले अहिलेको बिस्तारित बजारमा चलखेल असंभव रहेको दाबी गरे । ‘हाम्रो बजार यति ठूलो भयो कि कसैले १०–२० करोड हालेर चलखेल गर्छु भन्छ भने त्यो संभव छैन । कुनै निश्चित कम्पनीको मूल्य २–४ रुपैयााँ तलमाथि होला, तर समग्र बजार नै प्रभावित पार्न अब कसैले सक्दैन ।’ उनले भने–‘बरु सुनियोजित हल्ला फैलाएर मनोविज्ञान नै नकारात्मक बनाई केही तलमाथि स्वीङ गर्न सक्लान् । एकैदिनमा ५० पोइन्ट घट्ने र २० पोइन्ट बढ्ने जस्तो अवस्था पनि आउनसक्ला, तर ओभरअल मार्केट नै आफूले चाहेअनुसार ड्राइभ गर्छु र नाफा कमाउँछु भन्न अब संभव छैन ।’ 

(ढुंगानाको पूरा अन्तर्वार्ता पढ्न बिजशाला डटकम भिजिट गर्दै गर्नुहोला)