-भक्तराज रसाइली

काठमाण्डौ । स्टक ब्रोकर एशोसिएसन अफ नेपालले वाणिज्य बैंकहरुलाई सेयर दलालको अनुमति दिंदा यसले बजारमा दुर्घटना निम्त्याउने भन्दै यो व्यवस्था खारेजीसहितका सुझाव धितोपत्र बोर्डमा पेश गरेका छन् । 

धितोपत्र बोर्डले धितोपत्र व्यवसायी दलाल नियमावली २०६४ को संसोधनका लागि भन्दै एशोसिएसनसँग सुझाव मागेको थियो । बोर्डलाई सुझाव पेश गर्दै एशोसिएसनले यो साताको सुरुवातमा बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था खारेजीसहितको सुझाव पेश गरेको हो । 

नेपालको धितोपत्र बजारमा बैक तथा वित्तिय सँस्थाको शेयरका होल्डिङ २० प्रतिशतभन्दा बढी रहेको रहेको अहिलेको अवस्थामा बैक तथा बित्तिय संस्थालाई शेयर दलालको अनुमति दिदा इन्साइडर कारोबार हुने र सोको कारण पँुजीबजारमा अर्को दर्घटना आउन सक्नेछ । एशोसिएसनले आफ्नो सुझावमा भनेको छ–‘साथै बैक तथा बित्तीय संस्थालाई शेयर दलालको अनुमति दिंदा धितोपत्र बोर्ड र नेपाल राष्ट्रबैकमा रेगुलेशनमा पनि दुईवटा नियमक निकायबीच द्वन्द्व निम्तिनसक्ने हुनाले यो सैद्धान्तिक रुपमा नै गलत हुने देखिएको छ।’

एशोसिएसनले धेरै संस्थालाई इजाजतको अनुमति दिंदा विभिन्न विकृति बढ्नसक्ने, हाल संचालनमा रहेका ब्यवसायीहरुको ब्यवसायिक स्थायीत्व नहुने तर्क पेश गर्दै बैंकलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन नहुने सुझाव दिएको हो।

ब्रोकरहरुले नियम २७ को उपनियम (२) धितोपत्र दलालले धितोपत्र दलाली सम्बन्धी व्यवसाय बाहेक यस नियमावली बमोजिमको अन्य कार्य गर्नसक्ने छैन भन्ने बुँदा समेत परिमार्जन हुनुपर्ने माग गरेका छन् । सो बुँदामा बोर्डको स्वीकृतीमा धितोपत्र दलाली सम्बन्धी व्यवसायबाहेक लगानी व्यवस्थापन, परामर्श सेवा, मार्जिन ल्याडिङ्ग गरी मार्जिन ट्रेडिङ्ग, ब्रोकर डिलर तथा प्रोपाईटरी ट्रेड, अनुसन्धान तथा तालिम लगायतका कार्यहरु गर्नसक्ने भन्ने व्यवस्था हुनुपर्ने उनीहरुको सुझाव छ । 

कारोवार तथा राफसाफ सदस्यहरुको आफ्नो जिम्मेवारी र दायित्व हुने गरी ऐजण्ट वा सवब्रोकरका रुपमा अन्य संस्था तथा ब्यक्तिहरुलाई नियुक्त गरी ग्राहकहरुसँग सम्बन्ध स्थापित गर्न र धितोपत्रको कारोबार गर्न सक्ने व्यवस्था हुनुपर्ने पनि उनीहरुको सुझाव छ ।

कारोवार तथा राफसाफ सदस्यहरु  पब्लीक कम्पनीमा परिणत हुन, प्राथमिक निश्कासन तथा थप निश्काशनमार्फत सर्वसाधारणलाई शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचिकृत हुनसक्ने व्यवस्था समेत हुनुपर्ने एशोसिएसनको राय छ । 

कारोवार तथा राफसाफ सदस्यका  संचालक तथा कर्मचारीहरुले  आफ्नो तथा आफ्नो एकाघर परिवारका सदस्यहरुको नामबाट आफ्नै कम्पनीमार्फत शेयर खरिद बिक्री  गर्नसक्ने व्यवस्था हुनुपर्ने पनि माग गरिएको छ । 

एशोसिएसनले बुझाएको संसोधनको सुझावको पूर्ण विवरण यसप्रकार छ: