काठमाण्डौ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण नेपालमा समेत सेमी लकडाउन चलिरहेको छ । सरकारले बैंकलाई अत्यावश्यक क्षेत्रमा राखेका हुुनाले बैंकिंग सेवा भने सुचारु नै छ । तर, बैंकहरुले साबिकमा दिंदै आएका सेवा तथा सेवाको अवधिमा समेत धमाधम कटौति गर्न थालेका छन् ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सकेसम्म कम कर्मचारीबाट सेवा प्रवाह गर्न र डिजिटल सेवामा जोड दिन निर्देशन दिएको छ । यसपछि बैंकहरुमध्ये अधिकांशले सन्ध्याकालीन काउण्टर बन्द गरिसकेका छन् भने कतिपयले एक्सटेन्सन काउण्टर समेत बन्द भएको घोषणा गरेका छन् । कतिपय बैंकले भने साबिकको समयलाई काटाछाट गरी सेवा प्रवाहको समय सीमित बनाएका छन् । 

कोरोना भाइरस संक्रमणको जोखिमका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दैे अधिकांश बैंकहरुले सार्वजनिक बिदाका दिन र सन्ध्याकालीन काउन्टरहरुबाट प्रदान गर्ने सेवाहरु अर्को सूचना जारी नभएसम्मका बन्द गर्न थालेका छन् । 

कृषि विकास बैंकले सेवा प्रदान गर्ने समय र कर्मचारीका विषयमा छलफल पछि मात्र निर्णयमा पुुग्ने जनाएको छ । 

ग्राहकहरुलाई प्रदान गरिने सेवाहरु कुनै कटौती नगरी सामान्य बैंकिंग समयमा सेवा दिने नेपाल बैंकले दाबी गरेको छ ।

नेपाल बंगलादेश बैंकले भने बिहान ९ः३० बजेदेखि बेलुकी ४ बजेसम्म नै बैंकिंग सेवा दिइरहेको उल्लेख गर्र्दै बैंकसम्म नआई डिजिटल कारोबार गर्न प्रोत्साहन गरेको छ । कुनै पनि प्रकारको सेवा भने हाल कटौती नगर्ने जिकिर गर्दै बैंकले अत्यावश्यक परेमात्र बैंकमा आउन आग्रह गरेको छ ।

सिटिजन्स बैंकले पनि सन्ध्याकालीन काउण्टर बन्द गरिसकेको छ । बाँकी सेवाको अवधिलाई समेत छोट्याउने विषयमा चाँडै निर्णयमा पुग्ने बैंकका अधिकारीहरुको भनाई छ । 

एनआइसी एसिया बैंकले हालका लागि आफ्ना सबै अतिरिक्त काउण्टरहरु बन्द गरेको छ । यस बैंकका कलंकी, क्षेत्रपाटी, थानकोट, बालाजु, बौद्ध, बनेपा, अत्तरिया, महेन्द्रनगर, गाईघाट, लेकसाइड ९पोखरा०, इलाम, जनकपुर, मलंगवा, लहान र धनगढी हस्पिटल लाइन शाखाहरूबाट सेवा दिँदै आएको बिहान ९ बजे देखि साँझ ७ बजेसम्मको अतिरिक्त काउण्टरहरू २०७६ चैत्र १० देखि बन्द रहनेछन् । 

हिमालयन बैंकले सन्ध्याकालीन काउन्टर बन्द गरेको जनाउँदै दिउँसो ३ बजेसम्म बैंकिंग सेवा दिइने प्रष्ट पारिसकेको छ । 

यसैगरी कुमारीले पनि सन्ध्याकालीन काउन्टर बन्द गरेको बताउँदै दिउँसो २ बजेसम्ममात्र सेवा पाइने प्रष्ट्याइसकेको छ । 

मेगा बैंकले पनि आफ्नो सन्ध्याकालीन सेवालाई बन्द गरेको उल्लेख गर्दै आज एक सूचना जारी गर्दै नयाँ निर्णय लिने बताएको छ ।

बैंक अफ काठमाण्डौले बेलुकी ५ बजेसम्म सेवा दिइरहेको र नर्मल समयमा ४ बजेसम्म सेवा प्रदान गरिरहेको जनाउँदै पर्सिसम्म सन्ध्याकालीन काउन्टरका विषयमा निर्णय लिइने बताएको छ । 

माछापुुच्छ्रे बैंकले  भने सन्ध्याकालीन काउन्टर बन्द गर्ने निर्णय गर्दै डिजिटल कारोबार गर्न सुुझाएको छ ।

लक्ष्मी बैंक र प्राइम कमर्सियल बैंकले पनि सन्ध्याकालीन काउन्टर बन्द गरेका छन् र क्रमशः ४ बजे र ४ः३० सम्म सेवा दिने प्रष्ट्याएका छन् । 

नेपाल एसबीआइ बैंकले पनि सन्ध्याकालीन काउन्टर बन्द गरिसकेको छ भने बिहान १० बजेदेखि बेलुुकी ४ बजेसम्म सेवा दिइरहेको जनाएको छ।

सनराइज बैंक र सेञ्चुुरी कमर्सियल बैंकले पनि सन्ध्याकालीन काउन्टर बन्द गरिसकेको उल्लेख गर्दै क्रमशः २ः३० र ४ बजेसम्म सेवा दिइने बताएका छन् । 

एनएमबी बैंकले पनि आफ्नो सन्ध्याकालीन काउन्टर बन्द गरिसकेको छ भने बेलुकी ४ बजेसम्म नर्मल सेवा दिइरहेको जनाएको छ ।