काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर घटेको छ । 

अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा औसत आधार दर घटेको हो । 

नेपाल राष्ट्रबैंकले मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको समीक्षा गर्दै यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । 

केन्द्रीय बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधार दर २०७४ फागुनको १०.३६ प्रतिशतको तुलनामा २०७५ फागुनमा ९.६५ प्रतिशत कायम भएको छ ।

बैंकहरुको औसत आधार दर घटे पनि ऋणको ब्याजदर भने गत वर्षको तुलनामा यो वर्ष बढेको देखिएको छ । गत वर्ष फागुनमा कर्जाको भारित औसत ब्याजदर ११.९६ प्रतिशत रहेकोमा यो वर्ष बढेर १२.३३ प्रतिशत पुगेको हो । 

यस्तै, बैंकहरुले निक्षेपमा दिने औसत ब्याजदर चाहि बढेको देखिएको छ । २०७५ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.६२ प्रतिशत रहेको, अघिल्लो वर्षको सोही महिनामा ६.४५ प्रतिशत थियो ।

२०७४ फागुनमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर ४.७० प्रतिशत रहेकोमा २०७५ फागुनमा ३.५५ प्रतिशत कायम भएको छ । 

वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर पनि बढेको छ । २०७४ फागुनको ४.८७ प्रतिशतको तुलनामा २०७५ फागुनमा ५.१५ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।