काठमाण्डौ । सरकारले वित्तीय पहुँच बिस्तारलाई प्राथमिकतामा राखी सम्बद्ध सबै सरोकारवालाहरुलाई अभियानको रुपमा अगाडि बढ्न भनेसँगै देशका वित्तीय पहुँचमा चमात्कारिक सुधार भएको देखिएको छ । 

नेपाल राष्ट्रबैंकको अनुसन्धान विभागले गरेको अध्ययनको क्रममा यस्तो अवस्था देखिएको हो । 

गत जेठ मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा स्वदेशी र विदेशी गरी कुल २ करोड ७८ लाख ६७ हजार  निक्षेप खाता खोलिएका छन् । २०७६ मा नेपालको जनसंख्या २ करोड ९६ लाख रहेको अनुमान गरिएको छ । यो हिसाबले बैंक तथा वित्तीय संस्थामा खोलिएका निक्षेप खाता संख्या देशकै जनसंख्या नजिक रहेको देखिन्छ । तर, एकै व्यक्तिले एक भन्दा बढी बैंकमा खाता खोल्न पाउने भएकोले समग्रमा ६०.९ प्रतिशत नागरिकको कम्तीमा एउटा निक्षेप खाता रहेको भन्न सकिने राष्ट्रबैंकको भनाई छ । 

‘यी बैंकहरुमा नागरिकले खाता खोल्दा पेश गर्ने तीन पुस्ते विवरणको आधारमा एक व्यक्तिको एक भन्दा बढी निक्षेप खाता र विदेशी नागरिकको निक्षेप खाता हटाउदा करिब १ करोड ८० लाख नागरिकको व्यक्तिगत बचत खाता कायम हुन आउछ ।’ अध्ययन प्रतिवेदनमा भनिएको छ–‘सो अनुसार वि.सं. २०७६ मा नेपालको जनसंख्या २ करोड ९६ लाख रहेको अनुमानज्ञ गर्दा ६०.९ प्रतिशत नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको पाइएको छ । यसले नेपालको कुल जनसंख्याको कम्तीमा ६०.९ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा पहुँच रहेको देखाएको छ ।’

२०७६ असार मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा गरी १४ लाख ४० हजार कर्जा खाता रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ । २०७५ असार मसान्तमा यस्तो संख्या १३ लाख १ हजार रहेको थियो ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुका एटिएम संख्या उल्लेख्य वृद्धि हुँदै २०७६ असार मसान्तमा ३३१६ पुगेको छ । अघिल्लो वर्ष यो संख्या २७९१ रहेको थियो । त्यसैगरी डेविट कार्ड, क्रेडिट कार्डको प्रयोगमा समेत तीव्रता आएको बताइएको छ । मोवाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २०७३ मा १७ लाख ५५ हजार रहेकोमा २०७६ सम्ममा करिब ५ गुणाले वृद्धि भई ८३ लाख ४७ हजार पुगेको छ । यस अवधिमा इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या समेत ५ लाखबाट बढेर ९ लाख पुगेको छ ।

त्यसैगरी, शाखारहित बैंकिङ्ग केन्द्रको संख्या पनि बढ्दै गएको राष्ट्रबैंकको भनाई छ।

सबै स्थानीय तहमा वाणिज्य वैंकहरुको कम्तीमा एक शाखा पुर्याउने नीति अनुरुप अनुरुप २०७६ असोजसम्ममा ७३९ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भएको छ । २०७५ असार मसान्तसम्म ६३१ र २०७४ असार मसान्तमा २९६ स्थानीय तहहरुमा मात्र वाणिज्य बैकहरुका शाखा विस्तार भएको थियो । २०७६ असोज महिनासम्ममा प्रदेश ५ का सबै स्थानीय तहहरुमा वाणिज्य बैंकका शाखा पुगिसकेको छ भने सुदुर पश्चिम प्रदेशका ६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक एक स्थानीय तह र कर्णाली प्रदेश, प्रदेश ३ र प्रदेश २ का दुई दुई स्थानीय तहहरुमा अझै बैंक शाखा पुगेका छैनन् ।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको शाखा विस्तारसँगै एक बैंक शाखाबाट सेवा प्राप्त गर्नसक्ने औसत जनसंख्याको आकार पनि क्रमशः घट्दै गएको छ । २०७५ असार मसान्तमा कुल जनसंख्या र वैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्याको अनुपात ४३३४ रहेकोमा २०७६ असार मसान्तमा ३३६३ मा झरेको छ। प्रदेशगत रुपमा प्रति बैंक शाखा जनसंख्या अनुपात सबै भन्दा कम गण्डकी प्रदेश र सबै भन्दा बढी कर्णाली प्रदेशमा देखिएको छ

पछिल्ला वर्षहरुमा बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार तीव्र गतिमा भइरहेको छ । विगत ४ वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या दोब्बर भई २०७६ साउनमा ८८०५ पुगेको छ । २०७५ असारमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ६६५० रहेको थियो।