काठमाण्डौ । चालु आर्थिक वर्षको पाँच महिनाको तुलनामा मध्यावधि(प्रथम ६ महिना)मा बैंकहरुको आधार दर घटेको छ । 

नेपाल  राष्ट्रबैंकले आइतबार सार्वजनिक गरेको चालु आबको प्रथम ६ महिनाको आर्थिक तथा वित्तीय स्थितिको समीक्षामा यस्तो देखिएको हो । 

पाँच महिनाको तुलनामा ६ महिनामा आधार घटे पनि यसको अन्तर भने अत्यन्त न्यून रहेको छ । केन्द्रीय बैंकका अनुसार चालु आबको प्रथम पाँच महिनामा वाणिज्य बैंकहरुको औसत आधार ९.४६ रहेकोमा झिनो अंकले घटी पुससम्ममा ९.४५ प्रतिशत कायम भएको हो । 

अघिल्लो वर्षको मध्यावधि अवधिमा भने वाणिज्य बैंकहरुको औसत आधार दर ९.८० प्रतिशतको उचाईमा थियो । 

२०७६ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७९ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.९४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.७२ प्रतिशत र १२.२९ प्रतिशत रहेका थिए ।

२०७५ पुसमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर ०.८६ प्रतिशत रहेकोमा २०७६ पुसमा ३.१७ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ पुसको २.८४ प्रतिशतको तुलनामा २०७६ पुसमा १.७६ प्रतिशत कायम भएको छ ।

यो अवधिमा वाणिज्य बैंकहरुको अन्तर बैंक कारोबारको आकार समेत ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७६/७७ को छ महिनामा वाणिज्य बैंकहरुबीच रु.९२६ अर्ब ५३ करोड र अन्य वित्तीय संस्था (वाणिज्य बैंकबीच बाहेक) बीच रु.९१ अर्ब ४२ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्था (वाणिज्य बैंकबीच बाहेक) ले क्रमशः रु.६९१ अर्ब ४९ करोड र रु.१०३ अर्ब ४५ करोडको यस्तो कारोबार गरेका थिए ।