काठमाण्डौ । नेपाल बैंकर्स एशोसिएनका पूर्व अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानाले बैंकहरुले ब्याजदरलाई सिंगल डिजीटमा झार्ने प्रयास भइरहेको बताए । 

बैंकको ब्याजदर कम गर्नलाई आफूहरु प्रयासरत रहेको पनि उनको भनाई छ । उनले भने,‘१५/१६ प्रतिशतको ब्याजदरलाई १२ प्रतिशतमा ल्यायौं । हामी यसलाई सिंगल डिजिटमा ल्याउने कोशिश गर्दैछौं ।’ उनले राज्यले अति प्रभावित क्षेत्रलाई सुविधा दिनुपर्नेमा जोड दिए । 

‘अहिले बाँच्ने र बचाउने बेला हो । मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दा पनि दीर्घकालिन अवस्था हेरेर आउनुपर्छ।’–उनले भने । 

यो वर्षको बजेटमा आम जनताले अधिकतम राहतको आशा राखेको भएपनि केही राहत आएको, तर जनताका अपेक्षा पूरा नभएको बताए। 

अहिले सम्पूर्ण क्षेत्रको ध्यान नेपाल राष्ट्र बैंकतर्फ रहेको उनले सुनाए । उनले भने,‘ म यो मौद्रिक नीतिमा धेरै अपेक्षा राख्दिँन् । यसले कोभिड–१९ र बाढी, पहिरोले पारेको समस्यालाई पक्कै सम्बोधन गर्नेछ ।’

उनले उद्योगी, व्यवसायी, व्यापारी, बैंकर्सलगायत सबै क्षेत्रका सरोकारवालाहरुले मौद्रिक नीतिमा केही अपेक्षा गर्नु स्वभाविक भए पनि मौद्रिक नीतिका केही आफ्नै सीमाहरु हुने तर्क गरे । 

कोभिडबाट सबैभन्दा बढी, मध्यम र कम प्रभावित गरी ३ भागमा वर्गीकरण गरेर ऋणको किस्ता तिर्ने विषयमा केही न केही समय थप हुने उनले विश्वास दिलाए । 

उनले भने,‘कर्जाको ब्याजदर घटाउँदा निक्षेपको ब्याजदर पनि घटाउनु नै पर्नेहुन्छ । यसरी बैंकहरुले कर्जाको ब्याजदर घटाउँदा हाम्रो अर्थतन्त्रलाई नै नकारात्मक असर गर्छ ।’

यसैगरी, नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अहिले राष्ट्र विषम परिस्थितिबाट गुज्रिरहेकोले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति विगतभन्दा फरक आउनुपर्नेमा जोड दिएका छन् । उनले नेपालको अर्थतन्त्र उत्पादनमुखी र निर्यातमुखी बन्नुपर्नेमा जोड दिए । उनले १५० अर्बको ‘स्टिमुलस प्याकेज’ लागू हुनुपर्ने पनि बताए । उनले भने,‘यो बजेटमा घोषणा भएको छ । तर, कार्यान्वयन भएको छैन् । अब आउने मौद्रिक नीतिले सम्बोधन गर्छ होला । मौद्रिक नीति असारमै आउनुपर्दथ्यो ।’

उनले आम व्यवसायीको लागि मौद्रिक नीतिमा ब्याजदरको कुरा सम्बोधन हुनुपर्ने बताए । उनले अहिले राष्ट्र नै विषम परिस्थितिबाट गुज्रिरहेकोले समग्र क्षेत्र एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,‘एकले अर्कोलाई सहयोग गर्नुपर्छ । अब आउने मौद्रिक नीतिले तल्लो तहसम्म यसको अनुभुति हुन सकोस ।’ उनले सरकारी र निजी क्षेत्र मिलेर अघि बढे अहिलेको संकटबाट पार पाउन सकिने बताए । 

‘हाम्रो देशमा काम गर्ने शक्ति एशियामै बढी भएको देश हो । सबै एक भएर अघि बढ्नुपर्छ । सरकारले ल्याउने मौद्रिक नीति तल्लो तहका जनताले महशुस गर्न सक्नुपर्छ ।’–उनले भने ।