काठमाण्डौ। निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेलले सरकारलाई सम्पूर्ण पुँजीगत लाभकर बुझाएको छ।

एनसेलले पुँजीगत लाभकरबापत बाँकी रहेको सबै रकम १४ अर्ब ३३ करोड रुपैयाँ तेस्रो किस्ताबापत सरकारलाई आइतबार बुझाएको हो। दुई साताअघि दोस्रो किस्ताबापत एनसेलले ४ अर्ब ६० करोड बुझाएको थियो। 

एनसेलले सुरुमा अग्रिम लाभकरबापत कुल लाभको १५ प्रतिशतले हुने २२ अर्ब रुपैयाँ सरकारलाई बुझाएको थियो। त्यसपछि बाँकीको १० प्रतिशत लाभकर कोसँग असुल गर्ने भन्ने विवाद सुरु भएको थियो। 

विवादमा सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्चको फैसलासँगै एनसेलले बाँकी रहेको करको करिब २० प्रतिशत रकम बुझाएको थियो। त्यतिबेला एनसेलले पहिलो किस्ताबापत ४ अर्ब ५० करोड रुपैयाँ पुँजीगत लाभकर सरकारलाई बुझाएको थियो। 

एनसेलले तीन किस्तानमा पुँजीगत लाभकरबापत २३ अर्ब १६ करोड रुपैयाँ सरकारलाई बुझाएको हो। योसँगै अब एनसेल सरकारलाई बुझाउनुपर्ने लाभकरबापत मुक्त भएको छ। 

एनसेलले नेपालका नेपाल बैंक तथा अन्य निजी वाणिज्य बैंकहरुबाट १०.५ प्रतिशत ब्याजदरमा ऋण लिएर सरकारलाई लाभकर तिरेको हो। एनसेलले नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंक र ग्लोबल आईएमई बैंकसँग ४÷४ अर्ब रुपैयाँ ऋण लिएको छ। त्यस्तै नेपाल बैंकबाट ३ अर्ब, हिमालयन बैंकबाट २.५ अर्ब, एभरेस्ट बैंकबाट २ अर्ब र सानिमा बैंकबाट ५० करोड रुपैयाँ एनसेलले ऋण लिएको छ। 

यी बैंकहरुले गत शुक्रबार नै एनसेललाई दिइने ऋण स्वीकृत गरिसकेका थिए। एनसेलले आइतबार बिहानै बैंकहरुले दिएको ऋण रकम एभरेष्ट बैंकमा जम्मा गरेर एभरेष्ट बैंककै चेक काटेर सरकारलाई लाभकरबापतको पैसा तिरेको बताइएको छ।