काठमाण्डौ । नयाँ वर्षको सुरुवाती महिनामा वाणिज्य बैंकहरुको निक्षेप बढेको छ । 

नेपाल बैंकर्स संघका एक सदस्यका अनुसार बैशाख लागेदेखि निक्षेपमा सुधार सुरु भएको थियो । उनका अनुसार यो महिनाभरिमा निक्षेप २५ अर्बले बढेको छ । 

बैंकहरुले यो महिनामा २१ अर्ब कर्जा प्रवाह गरेका देखिएको छ । 

यसरी बैशाख सकिँदा वाणिज्य बैंकहरुमा २२ खर्ब ९३ अर्ब निक्षेप रहेको देखिएको छ भने उनीहरुले यो अवधिमा २० खर्ब २३ अर्ब कर्जा परिचालन गरेका छन् ।

तेश्रो त्रैमास सकिएलगत्तै सरकारीको खर्च गर्ने क्रम समेत बढेर जाने र यसले तरलता अभावको समस्यामा केही राहात दिने गर्दछ । यो पटक पनि बैशाखदेखि सरकारी विकास निर्माणको कामले तीव्रता पाउँदा ती योजनाका लागि रकम निकासा हुने क्रम बढेर गएको देखिन्छ । यसले तरलता अभावको समस्या समेत क्रमशः कम हुँदै गएको देखिएको छ ।

बैंकहरुले स्थानीय निकाय र अन्य तहका सरकारको चुनावमा खर्च भएको पैसा प्रणालीमा आउने ठानेर जथाभावी कर्जा प्रवाह गरेका थिए । त्यसदेखि नै बिग्रिएको निक्षेप र कर्जा बीचको असन्तुलन अझै सम्हालिन सकेको छैन ।