काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले अब निस्क्रिय कर्जाको समेत वर्गीकरण गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्रबैंकले बुधबार 'एकीकृत निर्देशन-२०७५' जारी गर्दै निस्क्रिय कर्जालाई समेत तीन भागमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको हो । 

अबदेखि बैंक तथा बित्तीय संस्थाले कमसल, शंकास्पद र खराब गरी तीन श्रेणीमा निस्क्रिय कर्जाको वर्गीकरण गर्नुपर्नेछ । ३ महिनादेखि ६ महिनासम्म भाखा नाघेका कर्जालाई कमसल, ६ महिनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेकोलाई शंकास्पद र  १ वर्षभन्दा बढी अवधिले भाखा नाघेका कर्जालाई खराबको श्रेणीमा राख्नुपर्ने व्यवस्था गरेको हो । 

यसअघि भाखा ननाघेका र ३ महिनासम्म भाखा नाघेको कर्जालाई असल, असल र सुक्ष्म निगरानीमा रहेका कर्जालाई सक्रिय कर्जा र पुनरतालिकीकरण तथा पुनरसंरचना गरेका, कमसल, शंकास्पद तथा खराब कर्जालाई निस्क्रिय कर्जा भनी परिभाषित गरिएको थियो ।

भाखा ननाघेका र १ महिनासम्म भाखा नाघेका,  मुद्दती रसिदको धितोमा गएका, नेपाल सरकारको सुरक्षणपत्र तथा नेपाल राष्ट्र बैंक ऋणपत्रको धितोमा गएका कर्जा तथा सापट, पर्याप्त सुरक्षण लिई प्रति ग्राहक बढीमा रु. १० लाखसम्म प्रवाह भएको सुनचाँदी कर्जालाई समेत असल कर्जामा वर्गीकरण गर्न पाइनेछ । तर, अतिरिक्त धितो सुरक्षण वापत मुद्दती रसिद वा नेपाल सरकारको सुरक्षणपत्र वा नेपाल राष्ट्र बैंक ऋणपत्र धितो राखी कर्जा प्रवाह गरेमा त्यस्ता कर्जा तथा सापट र रु. १० लाखभन्दा बढीको सुनचाँदी धितो कर्जालाई भने भाखा नाघेको आधारमा वर्गीकरण गर्नु पर्नेछ । 

यसैगरी, १ महिनादेखि तीन महिनासम्म भाखा नाघेका, नवीकरण नभई अस्थायी रुपमा भुक्तानी अवधि बढाईएका अल्पकालीन वा चालुपुँजी कर्जा, अन्य कुनै पनि बैंक वा वित्तीय संस्थामा निष्कृय कर्जामा वर्गीकरण भएको ऋणीलाई प्रवाहित कर्जा,साँवा र व्याज नियमित रुपमा भुक्तानी भएतापनि लगातार दुई वर्षदेखि खुद नोक्सानीमा रहेको वा नेटवर्थ ऋणात्मक रहेको फर्म, कम्पनी वा संस्थालाई प्रवाहित कर्जालाई सुक्ष्म निगरानीमा राख्नुपर्ने व्यवस्था गरिएको छ । तर, निर्माणाधीन अवस्थामा रहेका परियोजनालाई प्रदान गरिएको कर्जाको हकमा परियोजनाले व्यावसायिक उत्पादन शुरु गरेपछि मात्र यो व्यवस्था लागूहुनेछ । 

रु. १ अर्व वा सो भन्दा बढी रकमका सह–वित्तीयकरण कर्जामा परिणत नभएका बहुबैंकिङ्ग कर्जाहरुलाई समेत सुक्ष्म निगरानीमा राख्ने कर्जामा वर्गीकरण गर्नुपर्ने नयाँ निर्देशनले व्यवस्था गरेको छ ।