काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले निश्कासन गरिरहेको ऋणपत्रमा बढी ब्याज भएको भन्दै यसले भविष्यमा समस्या निम्त्याउनसक्ने बताएका छन् । 

ग्लोबल आइएमई बैंकले जनता बैंक नेपाल लिमीटेडलाई मर्जर गरी एकीकृत कारोबार शुभारम्भ गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै डा. खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्रमा अफर गरिरहेका ब्याजदरको विषयमा प्रश्न उठाएका हुन् । 

मध्यकालीन र दीर्घकालीन स्रोत व्यवस्थापनका लागि बैंकहरुले ऋणपत्र निश्कासनको राम्रो काम गरिरहेका उल्लेख गर्दै उनले आजको दिनमा अफर गरिरहेको ब्याजदरले भोलिको कस्ट अफ फण्ड धान्न सक्छ या सक्दैन भन्ने कुरा पनि हेर्नुपर्ने सुझाव दिए । 

‘ऋणपत्र मध्यकालीन र दीर्घकालीन लगानीका लागि स्रोत परिचालन गर्ने राम्रो विधि हो । तर, ऋणपत्रको ब्याजदर कायम गरिरहँदा आजको ब्याजदरलाई मात्र हेरिरहनुभएको छ, भोलिको कस्ट अफ फण्डलाई पनि हेर्नुभएकै होला ।’ उनले भने–‘अहिले निजी क्षेत्रका साथीहरुले ऋणको ब्याजदर बढी भयो भन्नुहुँदैछ । बैंकले १०.५ प्रतिशत ब्याज अफर गरेर ऋणपत्र निकाल्दा त्यसलाई खरीद गर्ने पनि उहाँहरु नै हुनुहन्छ । १०.५ प्रतिशत ब्याज ऋणपत्रमा दिने बैंकले लगानी गर्दा ९ प्रतिशत मात्र ब्याज त लिँदैन । त्यसकारण बंैकले बेच्न खोजेको ऋणपत्र र निजी क्षेत्रले खोजेको ब्याजदरमा तालमेल मिलाउन आवश्यक छ ।’

उनले निजी क्षेत्रले आफ्नो निक्षेपको ब्याज अधिकतम आओस्, तर मैले लिनुपर्ने ऋणमा त्यो भन्दा कम ब्याजदर होस् भन्ने सोंच राख्नु नै गलत रहेको प्रष्ट्याए । ‘कुनै बेला १३ प्रतिशतमा निक्षेप लिएर १२.५ प्रतिशतमा लगानी गर्ने एउटा कम्पनीको म पनि संचालक थिएँ ।’ उनले भने–‘अन्ततः त्यस्ता संस्था टिक्दैनन् र म संचालक रहेको संस्था पनि टिकेन ।’

उनले बचतकर्ता र लगानीकर्ताबीचको ब्याजदरको फरकलाई कम गर्ने काममा बैंकहरु फोकस हुनुपर्ने सुझाव समेत दिए । ‘यसका लागि एउटा बाटो हो संचालन कुशलता, यो कुशलता ल्याउने एउटा बाटो अलिक ठूलो हुने हो ।’ उनले थपे–‘किनभने दुईसंस्था मर्ज भई ठूलो भएपछि दुईवटा सीइओ, दुईवटा संचालक समिति, धेरै शाखा, एटीएम लगायतको खर्च त घट्यो नि । त्यसको लाभ त ब्याजदरमा दिन सकिन्छ नि, सबैले राहात महसुस गर्न पाउँछन् ।’

उनले कुनै बैंक ठूलो हुँदैमा संस्थागत क्षमता नबढ्ने, बरु कहिलेकाही ठूलो हुँदा भद्धा पनि भइने बताए । ‘भद्दा भएका कारण हाम्रो स्मार्टनेस घट्न पनि सक्छ । मोटाउन सजिलो छ, घट्न धेरै वर्कआउट गर्नुपर्छ ।’ उनले भने–‘स्मार्ट बैंकिङ गर्ने क्षमता हामीले बढाउनुछ । नभए त कर्मचारीतन्त्र लथालिङ्ग, काम गर्ने वातावरण बिग्रिने, बोर्डले समय दिन नसक्ने, व्यवस्थापनले सम्हाल्न नसक्ने अवस्था हुनसक्छ ।’

उनले पछिल्लो समय बैंकहरुले ठेक्कामा कर्मचारी लिएर भर्ना गर्ने गरेकोतर्फ असन्तोष व्यक्त गर्दै आफ्नै कर्मचारी बैंकले नचिन्ने दुःखलाग्दो अवस्था अन्त हुनुपर्नेमा जोड दिए । ‘त्यही भएर मैले पहिला नै भनेको थिएँ केवाइसीसँगै अब केवाईई पनि चाहियो ।’ प्रष्ट पार्दै डा. खतिवडाले भने–‘अर्थात नो योर इप्लोई(आफ्नो कर्मचारी चिन्नुहोस्) ।’

बैंकरको तलबमानमा पनि प्रश्न
डा. खतिवडाले बैंकरको तलबमानप्रति पनि प्रश्न उठाएका छन् । एउटा बैंकमा सातौ तहमा रहेको कर्मचारीलाई अर्को बैंकले सीइओ बनाएर लैजाने विकृति बढेको उल्लेख गर्दै उनले बैंकरहरु मात्र मोटाउने काम भएको घुमाउरो ढंगले आरोप लगाए । ‘पहिलो संस्थामा हुँदा ५० हजार तलब पाउनुहुन्थ्यो, अर्को जाँदा २ लाख भयो । बढ्दै जाँदा १० वर्षमा १० गुणा बढिसक्यो ।’ उनले भने–‘नेपालमा सबैको यति छिटो छिटो आम्दानी बढ्ने भए मुलुक उहिल्यै समृद्ध बनिसक्थ्यो ।

उनले हालसम्म बैंकहरुले समृद्ध बैंकर मात्र जन्माएका, तर व्यवसायी, निक्षेपकर्ता र लगानीकर्ताको समृद्धितर्फ ध्यान नदिइएको टिप्पणी समेत गरे । ‘वेल्थ क्रियसन फर अल भन्ने हुनुपर्यो । बैंकका साथीहरुले बुझ्नुहोस् यो कुरा । वेल्थ क्रियसन तपाईको मात्र होइन, व्यवसायीको पनि होस्, सबैको होस् ।’ उनले भने–‘त्यसमा मात्र मुलुकको दिगो विकास संभव हुन्छ ।’ 

आर्थिक सूचकको कुरा
अर्थमन्त्री खतिवडाले मुलुकमा लगानी गर्ने वातावरण सुधार भइरहेको बताए । ‘लगानीयोग्य पूँजीको उपलब्धता बढ्दैछ । खोजेको पूँजी खोजेकै ब्याजमा नपाइएला । तर, बैंकमा तरलताको अभाव हुने अवस्था देख्दिँन ।’ उनले भने–‘स्थानीय तहको ट्रेजरीको पैसाहरु बैंकहरुमा राख्ने व्यवस्था गरेका छौ, त्यसको सीमा अहिले ५० प्रतिशत छ । त्यसमा हामी पुनरवालोकन गर्न तयार छौ ।’

ब्याजदरको दुई आइडिया
उनले बैैंकरहरुलाई ब्याजदरमा दुईवटा विधि अवलम्बन गर्न समेत सुझाए । 

‘तपाईहरु दुईवटा विधिबाट जानुहोस् । पहिलो विकल्प, कुनै एउटा दर निश्चित हुन्छ, त्यो ३, ४, ५ वर्र्षसम्म जानसक्छ । त्यो दर अहिलेको दरभन्दा माथि या तल हुन सक्छ । अर्को हुन्छ परिवर्तनीय ब्याजदर  । दुईवटै अप्सन लिएर अगाडि बढ्नुभयो भने व्यवसायीले छनौटको विकल्प पाउँछन् । ब्याजदरको फरवार्ड कभरेज जस्तै हो पहिलो विधि अर्थात फिक्स्ड रेटको विधि ।’ उनले भने–‘बैंकहरुले सेवा शुल्कको विषयमा पनि स्पष्ट हुन जरुरी छ । त्यसको जायज पक्ष हेरिदिनुहोस्, फण्डेड गतिविधिमा ब्याजदरको मार्जिन लिइसकेपछि सेवाशुल्क धेरै लिन पाइन्न ।’ 

उनले बैंकका संस्थापकहरुलाई अस्वभाविक नाफा र रिटर्नको आशा नगर्न पनि आग्रह गरे । अस्वभाविक फी र चार्जेज लिएर नाफा बढी कमाउने काम बन्द गर्न आग्रह गर्दै भने–‘अहिलेको स्प्रेड आफैंमा आकर्षक छ । विश्वका ठूला बैंकको भन्दा यहाँको स्प्रेड राम्रो छ । यति नाफा कमाउनुहोस्, जुन सर्वस्वीकार्य हुन सकोस् ।’

क्रसहोल्डिङमा खेल नखेल्न चेतावनी
अर्थमन्त्री डा. खतिवडाले एकभन्दा बढी संस्थामा एकाघर परिवारका सदस्यहरुको नाममा रहेको क्रसहोल्डिङ घटाउने सरकारको पोलिसीमा साथ दिन त्यस्ता लगानीकर्ताहरुलाई आग्रह गरे । ‘तपाईहरुले एक भन्दा बढी संस्थामा आफ्ना छोराछोरीको नाममा, श्रीमान श्रीमतिको नाममा, कहीँ परिवार बिच्छेद गरेर, कहीँ सम्बन्धबिच्छेद गरेर, कृत्रिम तरिकाको बैंकको क्रसहोल्डिङ घटाउने कुरामा नलागेर व्यवसायिक रुपमा आउनुहोस् । त्यो जोखिम धेरै ठाउँमा नहाल्नुहोस् ।’ सम्झाउँदै उनले भने–‘अहिले पनि धेरै परिवारको एकभन्दा बढी वित्तीय संस्थामा सेयर छ । म गभर्नर हुँदा नै फेमिली ट्रि हेरेको थिएँ । कानूनी रुपमा जता गए पनि त्यो ट्री त यथावत नै रहन्छ । परिवारका सदस्यहरु त कागजमा न वरपर हुन्छौ, तर समाज त त्यही हो । त्यसो हुनाले एकभन्दा बढी वित्तीय संस्थामा सेयर भएका बैंकहरु आइदिनुहोस्, मर्जर भएर आइदिनुहोस् भन्ने हाम्रो अनुरोध छ ।’

सरकारको अनुरोधलाई बेवास्ता नगर्न समेत उनले सचेत गराए ।  ‘स्वस्फूर्त रुपमा आइदिनुहोस् हाम्रो अनुरोध छ । अब अअनुरोधलाई पालना नगर्दा, त्यसको मर्म नबुझ्दा भोलिका दिनमा अलिक कठीन अवस्था आयो भने फेरि सरकार र राष्ट्रबैंकको सहानुभूति टाढा पुगिसकेको हुन्छ । सबैलाई अनुरोध हो यो ।’ उनले भने ।  

अर्थतन्त्रको संरचनासँग तालमेलको आग्रह
डा. खतिवडाले देशको अर्थतन्त्रको संरचना परिवर्तन हुन थालेको उल्लेख गर्दै बैंकहरुले पनि त्यही अनुसार आफ्नो विजिनेश रणनीति विकास गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो अर्थतन्त्रको संरचना परिवर्तन हुँदैछ, यसले मध्यकालीन र दीर्घकालीन लगानी मागिरहेको छ, ठूलो लगानी पनि मागिरहेको छ । कुनै बेला १० वटा बैंक मिलेर पनि ५ अर्ब जम्मा गर्न कठीन थियो, तर आज एउटै बंैकले पनि यस्ता माग धान्न सक्ने भए ।’ उनले भने–‘अब यसले हाम्रो आर्थिक वृद्धिमा कहाँ तालमेल राख्छ त ? अल्पकालीन उपायबाट लगातार उच्च आर्थिक वृद्धि हासिल हुन सक्दैन ।’

पछिल्लो समय विश्वमै तीव्र आर्थिक वृद्धि हासिल भइरहेका टप टेन देशमा नेपाल पनि पर्न सफल भएको उल्लेख गर्दै उनले यो वर्ष अझ उच्च आर्थिक वृद्धि गर्नुपर्ने अवस्था रहेको र अल्पकालीन लगानीबाट यो असंभव हुने दाबी गरे । 

‘यसलाई नियमितसँग धान्न सक्ने गरी लगातार उच्च आर्थिक वृद्धिदरमा जाने हो भने ठूला पूर्वाधार र व्यवसायमा लगानी नगरी हुन्न । ठूलो पूँजी चाहियो, त्यसका लागि ठूलो पूँजी भएको बैंक पनि चाहियो । जसले आर्थिक वृद्धिका लागि चाहिने न्यूनतम पूँजी परिचालन गरिरहन सकून् ।’मर्जरपछि देशकै ठूलो बनेको ग्लोबल आइएमई बैंकका संचालकहरुतर्फ इंगित गर्दै उनले भने–‘अब तपाईहरु यति ठूलो बैंक भएपछि विदेशबाट समेत स्रोत भित्र्याउनुहोस् ।’

निक्षेपकर्ताको विश्वास जित्ने आधार ठूलो भवन !
अर्थमन्त्री खतिवडाले निक्षेपकर्ताको विश्वास जित्नलाई बैंकहरुले ठूलो भवन बनाउनुपर्नेमा जोड दिए । ‘बैंकहरुले पहिला पहिला अग्ला अग्ला भवन बनाउँथे । विश्वमा जानुभयो भने अधिकांश बैैंकका भवन ठूला हुन्छन् । ग्लोबल आइएमईको घर त हेर्न पाएको छैन, तर ब्यालेन्ससिट चाहि ठूलो भएको छ।’ उनले भने–‘भवन ठूलो भयो भने निक्षेपकर्तालाई विश्वास हुँदो रहेछ । यति ठूलो भवन छ, यति धेरै सम्पत्ति रहेछ, यो बैंकका संचालक हाम्रो पैसा खाएर भाग्दैनन् भन्ने हुँदो रहेछ । निक्षेपकर्ताको विश्वास जित्ने एउटा आधार ठूलो भवन पनि रहेछ । तर ठूलो हुँदैमा विश्वास जितिहालिन्छ भन्ने कुरा पनि होइन, त्यसले एउटा आधार चाहि सिर्जना गर्छ ।’ 

उनले व्यापार, एलसीमा फाइनान्सिङ गरेर, विदेशी विनिमयको कारोबार वा ओडीमा लगानी गरी महंगो ब्याज लिएर पैसा कमाउने बंैकहरुको दिन गए भन्दै ठूलो परियोजना र विशेष गरी पूर्वाधारका परियोजनामा केन्द्रीत हुन आग्रह गरे ।