काठमाण्डौ । संचालकहरुको नाफा बढाउने दवाब थेग्न नसकेर राजीनामा दिने बैंकका सीइओहरुले सूचिमा झलकप्रसाद खनालको नाम पनि थपिएको छ । 

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत खनालले राजीनामा दिएका हुन् । 

भिबोर विकास बैंकलाई सीइओको रुपमा हाँकेका खनालले मर्जरपछि भिबोर सोसाइटी विकास बैंक र त्यसमा समेत पुनः मर्जर गरी लुम्बिनी विकास बैंक बनाएका थिए ।

उनले दिएको राजीनामा लुम्बिनी विकास बैंकको संचालक समितिको जेठ ३ गतेको बैठकले पारित गरेको छ भने नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा डेपुटी सीइओ उमेश रेग्मीलाई नियुक्त गरिएको छ । 

खनालले आफूले व्यक्तिगत कारणले राजीनामा दिएको दाबी गरेका छन् । तर, बैंकस्थित उच्च स्रोतका अनुसार संचालक समितिसँगको खटपट र राष्ट्रबैंकको समेत दवाब परेपछि उनले बाध्य भएर राजीनामा दिएका हुन् । 

पछिल्लो समय लुम्बिनी विकास बैंकमा केही गडबडी भएको भन्दै नेपाल राष्ट्रबैंकले समेत निगरानी बढाएको थियो । सो क्रममा भिबोेर बैंक हुँदै २ वटा मर्जरपछि लुम्बिनी विकास बैंक बन्दासम्मको अवधिमा बैंकका केही कर्जाहरु अनियमित ढंगले प्रवाह भएको देखिएको राष्ट्रबैंक स्रोतको दाबी छ । त्यही बिषयमा संचालक समिति र सीइओ खनालबीच खटपट बढेको थियो । संचालक समितिसँग असन्तुष्ट खनाल पछिल्लो समय खासै सक्रिय थिएनन्, जसका कारण तेश्रो त्रैमासको वित्तीय विवरणले धेरै लगानीकर्तालाई निराश बनाइदिएको थियो । लुम्बिनी विकास बैंकको तेश्रो त्रैमासको वित्तीय विवरणमा धेरै प्रमुख सूचकहरु धराप बनेका देखिएको छ । यसले समेत संचालकसँगको खनालको दूरी अझ बढाइदिएको र खनालले २ कार्यकाल पूरा नहुँदै राजीनामा दिएका स्रोत बताउँछ ।

खनालले भिबोरदेखि भिबोर सोसाइटी हुँदै लुम्बिनी विकास बैंकसम्म आउँदा ५ वर्ष ३ महिना सीइओको रुपमा काम गरे । त्यसअघि उनले सिद्धार्थ डेभलपमेन्ट बैंकमा ९ महिना जति सीइओको रुपमा काम गरेका थिए । त्यसअघि ज्योति विकास बैंकमा एक कार्यकाल सीइओको रुपमा काम गरेका थिए । 

बैंकिङ क्षेत्रबाटै विदा !
बिजशालासँग कुरा गर्दै सीइओ खनालले आफ्नो संचालक समितिसँग कुनै खटपट नरहेको दाबी गरे । उनले बैंकिङ क्षेत्रमा मात्रै आफूले २५ वर्ष १ महिना ४ दिन समय व्यथित गरेको उल्लेख गर्दै व्यक्तिगत कारणले राजीनामा दिएको जिकिर गरे । 

खनालले नेपाल–फ्रान्सको ज्वाइन्ट भेञ्चरको रुपमा संचालित नेपाल इण्डोसोइज बैंकबाट अफिसरको रुपमा बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए । त्यहाँ ९ वर्ष काम गरेका उनले पछि सो बैंक नेपाल इन्भेष्टमेन्ट बैंकमा रुपान्तरण भएपछि पनि ६ वर्ष काम गरे । सिनियर म्यानेजरबाट इन्भेष्टमेन्ट बैंक छाडेका उनले त्यसपछि भने सीइओको रुपमा काम गरेका थिए, ज्योति विकास बैंकबाट । 

‘मैले १० वर्ष बढी सीइओको रुपमा काम गरेछु, बाँकी १६ वर्ष अफिसरको रुपमा ।’ उनले भने–‘एउटै क्षेत्रमा २५ वर्षभन्दा बढी कति काम गर्ने ? त्यही भएर सदाका लागि बैंकिङ क्षेत्रबाटै विदा लिने निश्कर्षमा पुगेको हुँ ।