काठमाण्डौ । नेपालकै इतिहासमा बैंकिङ प्रणालीमा सबैभन्दा ठूलो ह्याकर आक्रमणमा तीनवटा बैंकका एटिएम बुथ पैसा चोर्न प्रयोग भएको देखिएको छ।

काठमाण्डौको दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट शनिबार मध्यरातमा नक्कली भिसा कार्ड प्रयोग गरी रकम झिकिरहेको अवस्थामा पाँचजना चिनियाँ नागरिक पक्राउ परेपछि यस्तो तथ्य सार्वजनिक भएको हो ।

घटनाबारे जानकारी दिन महानगरीय प्रहरी परिसर काठमाण्डौँमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी उत्तमराज सुवेदीले ह्याकरहरुले पैसा चोर्न हिमालयन बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड र नबिल बैंक लिमिटेडको एटिएम बुथ प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । यसरी ह्याकरको आक्रमणमा परेका बैंकमध्ये प्रभु बैंकले आइतबार ह्याकरहरुविरुद्ध जाहेरी दिने पहिलो बैंक पनि बनेको छ ।

पक्राउ पर्नेमा झु लियाङ आङ (३० वर्ष), चेन विङ दिङ (३५), क्यु याङ याङ यिङ (३०), लु जिया लिङ ४० र लिन जिनमिङ २९ वर्षका छन् । उनीहरुलाई मुलुकी संहितामा उल्लेख बैंकिङ कसुरअन्तर्गत अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्ने तयारी भइरहेको एसएसपी सुवेदीले जानकारी दिए।

पक्राउ परेकासँग प्रहरीले रु एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजार ४५ अमेरिकन डलर, २५० युरो, १०९० युआन, ८० हङकङ लडर र ५ कम्बोडेली मुद्रा फेला परेको पत्रकार सम्मेलनमा जानकराी दिइयो ।

घटना विवरणअनुसार फस्ट ट्र्याकबाट पैसा निकाल्ने क्रममा नबिल बैंकका कर्मचारीको चलाखीले उनीहरु पक्राउ पर्न सफल भएको बताइएको छ ।

नबिल बैंकले शनिवार बिदा पर्ने भएकाले शुक्रबार एटिएममा आइतबारसम्मलाई पुग्ने गरी पैसा हालेको थियो । तर शनिबार नै नबिल बैंकको कमलादीका दुबै एटिएम खाली भएको देखियो। अस्वभाविक रुपमा एटिएममा पैसा सकिएपछि त्यहाँ खटिएका कर्मचारीले आफ्नो सुपरभाइजरलाई खबर गरे।

सुपरभाइजरले बैंकमा आएर हेर्दा प्रभु बैंकको १२/१३ वटा कार्डबाट धमाधम पैसा झिकिएको दखियो। त्यसपछि सिसिटिभी फुटेमा धमाधम पैसा झिक्दै हालेको देखिपछि शंकाका आधारमा प्रहरीलाई खबर गर्ने काम भयो ।

कमलादी शाखाबाट पैसा झिकेका मान्छेहरु नै नबिल बैंकको दरबारमार्ग तीनधारास्थित केन्द्रीय कार्यालयमा पनि आएर पैसा झिक्न थालेका थिए। बैंक कर्मचारीको जानकारी पाएलगत्तै पुगेको दरबारमार्ग, कमलपोखरी र सोह्रछुट्टको प्रहरी टोलीले सुरुमा नबिल बैंकको दरबारमार्ग एटिएम बुटबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । त्यसपछि सोधपुछ र सर्च गर्ने क्रममा अन्य चारजना होटलबाट पक्राउ गरिएको एसएसपी सुवेदीले जानकारी दिए।