काठमाण्डौ । नेपालकै इतिहासमा सबैभन्दा ठूलो बैंकिङ प्रणाली ह्याक प्रकरणमा संलग्न चिनियाँ गिरोहका थप एकजना आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले सु लुसिङ नाम गरेका चिनियाँ नागरिकलाई नेपालबाट फर्किन लागेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका लुसिङ एटिएम ह्याकरमध्येका एक सदस्य रहेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

ह्याकर समूहको अझै दुईजना फरार रहेको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले यो प्रकरणमा संलग्न पाँचजना चिनियाँ नागरिकलाई उच्च अदालत पाटनबाट अनुसन्धानका लागि सात दिन म्याद थप गरिसकेको छ ।

मध्यरातमा काठमाण्डौको दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट सिस्टम ह्याक गरी रकम झिक्दै गरेको अवस्थामा पक्राउ परेको एकजना र पछि होटेलबाट पक्राउ परेका अन्य चारजनाविरुद्ध प्रहरीले मुलुक संहिताअन्तर्गत बैंकिङ कसुरमा मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गवरिरहेको छ ।

यसअघि पक्राउ पर्नेमा झु लियाङ आङ, चेन विङ दिङ, क्यु याङ याङ यिङ, लु जिया लिङ र लिन जिनमिङ छन् ।

करिब तीन दिनअघि नेपाल छिरेका ह्याकरहरुले प्रभु बैंक, नबिल बैंक र हिमालयन बैंकको एटिएम बुथ प्रयोग गरेर करिब १ करोड ६८ लाख ५४ हजार ४२० रुपैयाँ चोरी गरेका थिए । उनीहरुले यसअघि भारत र भुटानका विभिन्न बैंकबाट पनि ७० लाखदेखि ८० लाख रुपैयाँसम्म सर्भर ह्याक गरेर पैसा चोरी गरेको खुल्न आएको एएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।