काठमाण्डौ । चिनियाँ ह्याकरहरुले नेपालका विभिन्न बैंकका एटिएम बुथहरुबाट करोडौँ रकम चोरी गरेपछि अब एटिएम मेसिनबाट एक दिनमा ६० हजार रुपैयाँभन्दा बढी निकाल्न नपाइने भएको छ । 
यो प्रकरणपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई परिपत्र गर्दै एटिएमबाट एक दिन निकाल्न पाइने रकमको सीमा घटाएको हो । यसअघि एटिएमबाट एक दिनमा एक लाख रुपैयाँसम्म निकाल्न पाइन्थ्यो ।

यसैगरी राष्ट्रबैंकको परिपत्रअनुसार अब एटीएमबाट पैसा निकाल्दा एक पटक २० हजार रुपैयाँमात्र निकाल्न सकिनेछ । यसअघि एकपटकमा २५ हजार रुपैयाँ निकाल्न मिल्थ्यो।

बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थितिलाई ध्यानमा राखेर उल्लिखित सीमा घटाउन सकिने छुट राष्ट्र बैंकले दिएको छ।

चिनियाँ ह्याकरहरुले नेपालमा ७ बैंकको कार्डमार्फत ६८ एटीएमबाट र भारतमा २४ वटा बैंकका १३२ वटा एटिएमबाट रकम चारी गरेको राष्ट्र बैंकद्वारा गठित टोलीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार सेन्चुरी, नेपाल बैंक, इन्भेस्टमेन्ट, नबिल, लक्ष्मी, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, सानिमा, एनसीसी, कृषि विकास, मेगा, नेपाल एसबीआई, एनएमबी र कुमारी बैंक गरी १४ वाणिज्य बैंक र मुक्तिनाथ, गरिमा र महालक्ष्मी विकास बैंक गरी १७ बैंक तथा विकास बैंकका एटीएम प्रयोग भएको छ। ह्याकरहरुले सनराइज, माछापुच्छ्रे, ग्लोबल आईएमई, जनता, सिटिजन्स, एनआईसी एसिया र प्रभु बैंक गरी सातवटा बैंकको एटीएम कार्ड प्रयोग गरेको भेटिएको प्रतिवेदनले देखाएको छ ।

यसैगरी यही गिरोहले भारतका २४ बैंकका १३२ एटीएम पैसा निकालेको देखिएको प्रतिवेदनमा जनाइएको छ । यस अवधिमा ती बैंकहरूको एटीएममा नेपाली बैंकसँग सम्बधित कारोबार भएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा गत शनिबार भएको एटीएमबाट करिब ३ करोड ५८ लाख रुपैयाँ झिकिएको देखिइएको जनाइएको छ। प्रतिवेदनमा शनिबार बिहान ११ बजेदेखि साँझ ४ः३५ बजेसम्मको सबै कारोबार समेटिएको छ । बैंकहरुले यो समयमा बैंकका ग्राहकहरुले पनि एटिएम प्रयोग गरेर पैसा झिकेकोले प्रतिवेदनमा उल्लेख गरिएको ३ करोड ५८ लाख रुपैयाँ चोरी नभएको दाबी गरेका छन् ।