काठमाण्डौ । उपत्यकामा बैंकिङ कसुरका घटनामा वृद्धि भएको छ ।

महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्द बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ । जसमा काठमाडौँमा दुई हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्द मुद्दा दायर भएको हो । बैंकिङ कसुरमा काठमाडौँमा १५, ललितपुरमा तीन र भक्तपुरमा तीन कार्यालयबाट मुद्दा चल्दै आएको छ । 

उपत्यकामा आव २०७४/०७५ मा ४८७ र आव २०७३/०७४ मा १० जनाविरुद्द बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो । यसबाहेक उपत्यकाको महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत पनि बैंकिङ कसुरमा मुद्दा चल्दै आएको छ । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली पछिल्लो समय नेपाल प्रहरीमा लेनदेनको मुद्दा धेरै आउने गरेको बताउनुहुन्छ । “पहिला सहमतिमा कारोबार गर्यो, पछि पैसा नउठेपछि प्रहरीकोमा मुद्दा हाल्ने प्रचलन बढेको छ,”उहाँ भन्नुहुन्छ ।

खातामा पर्याप्त रकम नभई भुक्तानीका लागि चेक काट्ने र दिने घटनालाई बैंकिङ कसुरमा मुद्दा चलाइने गरेको छ । केही समय अगाडि देवानी हक अन्तर्गत बैंकिङ कसुरको मुद्दा अदालतले हेर्ने प्रावधान गरेपछि पीडितले उजुरी गर्दा थप दुःख पाएको भन्दै पुनः प्रहरीले नै बैंकिङ कसुरको मुद्दा हेर्ने व्यवस्था मिलाइएको थियो ।

मुलुकभर आर्थिक वर्ष २०७५/७६ मा दुई हजार ६२० जनाविरुद्द बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो ।

यस्तै आव २०७४/७५ मा ७७६ र आव २०७३/७४ मा ९३ जनाविरुद्द बैंकिङ कसुरमा मुद्दा चलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।