काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत वीर अस्पताललाई २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेको छ। 

बैंकद्वारा चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका उपकुलपति प्राडा देवनारायण शाहलाई एक कार्यक्रमका बीच उक्त पीपीई हस्तान्तरण गरिएको हो।  बैंकले पीपीईसहित २०० थान मास्क र २०० थान फेस सिल्डहरु पनि हस्तान्तरण गरेको छ। 

ती पीपीईले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सिर्जना भएको कठिन परिस्थितिमा सीमित स्रोतसाधनका बीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मीको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। 

लकडाउनको अवधिमा पनि अत्यावश्यक सेवाअन्तर्गत बैंकले एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्सलगायत एलसी, ग्यारेन्टीजस्ता सेवासुविधाहरु प्रदान गर्दै आएको छ। बैंकले आफ्ना ग्राहकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङजस्ता डिजिटल बैंकिङ माध्यमहरुको अत्याधिक प्रयोगलाई उचित बढावा र प्रोत्साहन दिँदै आइरहेको जानकारीसमेत गराएको छ।