काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको बिहीबार सम्पन्न २५ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनेको  १७ प्रतिशत लाभांश पारित गरेको छ ।

बैंकको वार्षिक साधारणसभा काठमाण्डौको गैह्रीधारास्थित एलिस रिसेप्सन्समा भएको थियो । साधारणसभाले बैंकले प्रस्ताव गरेको गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट प्रस्तावित चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश (लाभांश करसहित) र ६ प्रतिशत बोसन सेयर अनुमोदन गरेको छ । प्रस्तावित बोनस सेयर जारी भएपछि बैंकको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्रको दफा ५(ख) र ५(ग) पनि संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

बैंकको खुद मुनाफा गत वर्षको तुलनामा करिब ४३.६१ प्रतिशतले वृद्घि भई रु. १ अर्ब ८९ करोड पुगेको साधारणसभामा जानकारी दिइयो । सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले समितिको प्रतिवेदन पनि पारित गरेको छ ।

सोही अवसरमा बैंकले आफ्ना लगानीकर्ता तथा ग्राहकहरुका लागि ‘बीओके लगानीकर्ता बचत खाता’ योजना पनि सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा बैंकको कुल निक्षेप ८३ अर्ब ३२ करोड तथा कुल कर्जा ७६ अर्ब ३६ करोड रहेको छ । साथै बैंकले हाल ८७ शाखा, ७८ एटीएम तथा ९ वटा एक्सटेन्सन काउण्टर सन्जालमार्फत आफ्ना ग्राहकलाई सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रदान गरिरहेको छ ।