►सन्दिप पौडेल 
बित्तीय क्षेत्रका कम्पनीहरु नाफामूलक हुन्छन्, तर सबै कम्पनीमा राम्रो कार्यसम्पादन हुन्छ भन्ने चाहि हुँदैन । त्यही भएर लगानीकर्ताहरुले बित्तीय क्षेत्रका कम्पनीहरुले सधैं नाफा मात्रै दिन्छन् र सबै बैंक तथा बित्तीय संस्थाले गतिलो रिटर्न दिन्छन भन्ने कुरा चाहि गलत हो ।  

नेपालको सन्दर्भमा बित्तीय कम्पनीहरुको तुलनात्मक अध्ययन गर्ने हो भने बाणिज्य बैंक, बिकास बैंक र बित्त कम्पनीहरुले प्रवाह गर्ने सेवामा खासै फरक पाइन्न । यही कारणले पनि नेपालको बित्तीय क्षेत्रमा धेरै प्रतिस्पर्धा रहेको छ । बित्तीय क्षेत्रमा लगानी गर्नुभन्दा पहिला बित्तीय संस्थाले कसरी सेवा दिन्छ, कस्तो सेवा दिन्छ, सेवाको बजारमा कतिको माग छ, आदि कुराहरुमा प्रष्ट हुनुपर्छ । त्यसको साथै बित्तीय क्षेत्रको लगानीयोग्य कम्पनीहरुको तुलनात्मक अध्ययन गरी कुन कम्पनी सबल छ, बलियो छ, लगानीगर्दा जोखिम कम छ र कुन कम्पनी दुर्बल छ, कमजोर छ वा लगानी गर्दा जोखिम धेरै छ भन्ने महत्त्वपूर्ण बिश्लेषण लगानीकर्ताहरुले गर्न सक्नुपर्छ । सामान्यतया बलियो ब्यवस्थापन, बजारमा गुणस्तर सेवा प्रदान गरेको, बित्तीय स्थिति मजबुत भएका कम्पनी छान्नु उपयुक्त हुने गर्छ । त्यसैगरी बित्तीय क्षेत्रका कम्पनीहरुमा लगानी गर्दा केकस्ता कुराहरूमा बढी ध्यान दिनुपर्छ त ? हेरौं केही सूत्र:

जगेडा तथा सञ्चितकोष
सामान्यतया जगेडा कोषले कम्पनीको बलियोपन वा कमजोरपनको ब्याख्या गर्दछ अर्थात जगेडा कोषमा जति बढी  नाफाबाट आर्जन गरेको रकम सञ्चित हुन्छ, त्यति नै कम्पनीको लाभांश बाड्ने क्षमता बढी हुनेगर्छ । त्यही भएर लगानीकर्ताको दृष्टिकोणबाट हेर्ने हो भने बलियो जगेडा कोष भएको कम्पनी छान्नुपर्दछ । 

उच्च कर्जा ब्याज मार्जिन
बैंकिङ क्षेत्रमा लगानी गर्दा यो सूचक बढी भएको कम्पनी छान्नु पर्दछ । यो सूचकले बैंकले लगानी गर्ने कर्जामा ब्याज आम्दानी कतिको प्रबल छ भन्ने देखाउँछ । 

इक्वीटीमा प्रतिफल
जगेडा तथा संचित कोष, सेयर प्रिमियम  र सेयरपुँजीको कुल योगलार्र्इ नै इक्विटी भनिन्छ । यो सूचक जति धेरै हुन्छ, त्यति नै त्यो कम्पनीले सेयरमा गतिलो रिटर्न दिएको छ भन्ने बुझिन्छ । समग्रमा यो सूचक बित्तीय विश्लेषणमा महत्त्वपूर्ण हुने भएकाले यो सूचकमा लगानीकर्ताहरुले ध्यान दिएर हेर्नुपर्छ ।

सम्पत्तिमा प्रतिफल 
कम्पनीले आम्दानी गर्ने प्रतिफलमा सम्पत्तिको कतिको उपयोग गरेको छ भनेर यो सूचकले देखाउँछ । यो सूचक जति धेरै हुन्छ त्यति नै कम्पनी बलियो छ भन्ने बुझिन्छ । 

मूल्यआम्दानी अनुपात
मूल्यआम्दानी अनुपातले नाफामा गएका कम्पनीहरुको बजार मूल्य कम मूल्यांकन भएको छ कि बढी मूल्यांकन भएको छ भन्ने कुरा देखाउँछ । यसको गुणान एकाइमा गरिन्छ । राम्रो कम्पनीहरुको मूल्य आम्दानी अनुपात कम भएको बेला किन्दा भविष्यमा धेरै फाइदाजनक हुन्छ । 

ऋण अनुपात
कुनै पनि कम्पनी सञ्चालनमा ऋणले लेवेरेज प्रदान गर्दछ अर्थात ऋणले कम्पनीमा धेरै ठूलो भूमिका खेलेको हुन्छ, तर ऋणको सही ढंगले प्रयोग गर्न सकिएन भने समग्र  कम्पनी नै संकटमा पर्दछ । लगानीकर्ताले कम्पनी छनौट गर्दा कम ऋणको प्रयोग भएको कम्पनीमा लगानी गर्नुपर्छ ।

संस्थागत सुशासन 
बैंकिङ कसुरमा परेका, समयमा साधारण सभा नगर्ने, रास्ट्र बैंकद्वारा जारी नीतिनियम पालना नगर्ने आदि नकारात्मक क्रियाकलाप गर्ने कम्पनीहरुबाट टाढा रहनुपर्छ । त्यही भएर कम्पनी छनौट गर्दा संस्थागत सुशासन पालना गर्ने कम्पनी रोजाइमा पर्नुपर्दछ । 

प्रतिसेयर आम्दानी
प्रतिसेयर आम्दानीले कम्पनीको सेयरको मूल्यांकन गर्दछ अर्थात सो कम्पनीको एक सेयरले कति मुनाफा कमाउन सफल भएको छ भन्ने बुझिन्छ । कम्पनीहरुको तुलनात्मक अध्ययन गर्न यो सूचक निकै उपयुक्त छ । लगानीकर्ताहरुको रोजाइमा प्रतिसेयर आम्दानी धेरै भएको कम्पनी पर्दछन् ।
(लेखक सेयर बजारका युवा लगानीकर्ता हुन्)