काठमाण्डौ । देशको एक क वर्गको वाणिज्य बैंक र इन्स्योरेन्स कम्पनीले व्यवस्थापनको डिग्री हासिल गरेकाहरुलाई लक्षित गर्दै विभिन्न पदमा जागिरको अवसर खुलाएका छन् । 
 

एनएमबी बैंक लिमीटेडले काठमाण्डौ, पूर्वाञ्चल र पश्चिमाञ्चल क्षेत्रका लागि विभिन्न पदमा १० वटा पदहरुमा जागिरको अवसर खुलाएको छ । बैंकले बुधबार आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरी जागिरका लागि योग्य उम्मेद्वारहरुबाट दरखास्त आह्वान गरेको हो । 
 

एनएमबी बैंकले डेपुटी र असिस्टेन्ट मेनेजरको तहमा रहेर काम गर्ने गरी सिनियर आरएम बिजिनेश बैंकिंगमा केही जनशक्ति माग गरेको छ । यसैगरी, असिस्टेन्ट मेनेजर वा सिनियर अफिसर तहमा काम गर्ने गरी समेत केही जनशक्ति माग गरिएको छ । सिनियर आरएम डेभलपमेन्ट अर्गनाइजेसनका लागि समेत केही सिनियर अफिसर मागिएको छ । यस्तै, क्रेडिट रिस्क अफिसर र रिकभरि अफिसरका लागि समेत योग्यबाट दरखास्त आह्वान गरिएको छ । 

काठमाण्डौ उपत्यकाभित्रका केही शाखाहरुका लागि शाखा प्रबन्धकमा पनि दरखास्त आह्वान गरिएको छ । पूर्वाञ्चल र पश्चिमाञ्चलका केही शाखा कार्यालयहरुका लागि समेत ब्राञ्च म्यानेजर माग गरिएको छ । तिनै क्षेत्रका शाखामा काम गर्ने गरी जुनियर अफिसर तहमा केही रिलेशनसीप म्यानेजरको समेत माग गरिएको छ । 
 

सबै पदहरुमा फाइनान्स, म्यानेजमेन्ट र अकाउण्टमा कम्तीमा स्नातक गरेकोले आवेदन दिनसक्ने जनाइएको छ । सबै पदमा स्नातकोत्तर गरेकालाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ । जुनियर अफिसरका लागि ३ बर्ष, अफिसर तथा सिनियर अफिसरका लागि ५ बर्ष, असिस्टेन्ट मेनेजरका लागि ७ बर्ष र डेपुटी मेनेजर तथा मेनेजरका लागि १० बर्षको कार्यानुभव तोकिएको छ । सबै पदमा आवेदन दिनेसँग नेपाली र अंग्रेजी भाषाको राम्रो ज्ञान हुनुपर्ने र कम्प्युटर सम्बन्धी समेत राम्रो ज्ञान हुनुपर्ने उल्लेख छ । इच्छुकहरुले सोझै career@nmb.com.np मा सन् २०१६ मार्च ३ भित्रमा आवेदन दिइसक्नुपर्ने बताइएको छ । 
 

यसैगरी, नेपालको प्रतिष्ठित बिमा कम्पनी शिखर इन्स्योरेन्समा समेत केही पदहरुमा जागिरको अवसर खुलेको छ ।

यो बिमा कम्पनीको हेल्थ इन्स्योरेन्स सेल्स डिपार्टमेन्टमा काम गर्ने गरी सम्झौता गरेको कन्सल्ट्यान्ट कम्पनी केएफएले हेल्थ इन्स्योरेन्स सेल्सको हेडमा १ जना र सोही डिपार्टमेन्टको अफिसर पदमा ५ जनाका लागि जागिरको अवसर खुलाएको हो । सेल्सको हेडमा एमबीए गरी ३ बर्षको अनुभव भएकाले तथा अफिसर पदमा चाहि व्यवस्थापनमा ग्राजुएटहरुले आवेदन दिन सक्ने बताइएको छ । दुवै पदमा बिमा सम्बन्धी अनुभव भएकाहरुलाई प्राथमिकतामा दिइने उल्लेख छ । आगामी मार्च १ सम्ममा दुवै पदमा आवेदन दिन सकिने र आवेदकले placement@kfaltd.comमा आवेदनपत्र र व्यक्तिगत बायोडाटा पठाउन सकिने सूचनामा उल्लेख छ ।