काठमाण्डौ । देशकै क वर्गको एक वाणिज्य बैंक र स्थापित सिमेन्ट उद्योगमा व्यवस्थापन पढेर बेरोजगार भएका तथा रोजगारी पाएर समेत उचित स्थान तथा सेवा सुविधा पाउन नसकेकाहरुका लागि नयाँ जागिरको अवसर खुलेको छ । 
 

प्राइम कमर्सियल बैंक लिमीटेड र वृज सिमेन्ट इण्डष्टिज प्रालिले दर्जनौ संख्यामा नयाँ जागिरको अवसर खुलाएको हो । 
 

बैंकले काठमाण्डौस्थित केन्द्रीय कार्यालयमा रहने गरी जोखिम व्यवस्थापन विभागको प्रमुख पदमा दरखास्त आह्वान गरेको छ । सम्बन्धित काममा ७ बर्षको अनुभवीलाई ग्राहयता दिइने बैंकले जनाएको छ । यसैगरी, दर्जन बढी ब्राञ्च मेनेजरका लागि समेत दरखास्त आह्वान गरिएको छ । काठमाण्डौभित्र र बाहिरका शाखाहरुका लागि प्रबन्धकमा जागिरको अवसर खुलाइएको हो । सम्बन्धित क्षेत्रमा ४ वर्ष अनुभव हासिल गरेको र व्यवस्थापनमा स्नातक उत्तीर्णलाई यो पदमा अवसर दिइने बताइएको छ । 

यसैगरी, बैंकले काठमाण्डौभित्र र बाहिरका जिल्लामा रहेर काम गर्ने गरी दशजना भन्दा बढी अफिसर लेभलको कर्मचारी समेत माग गरेको छ । यो पदमा समेत ४ वर्ष अनुभव भएका र व्यवस्थापनमा स्नातकलाई प्राथमिकता दिइने उल्लेख छ । यस्तै, केही संख्यामा इन्टरनल अडिट पदमा समेत जागिर खुलाइएको छ । यो पदमा सीए वा एसीसीए उतीर्ण गरी २ वर्ष अनुभव प्राप्तहरुलाई प्राथमिकता दिइने उल्लेख छ । सिस्टम अपरेटर र आइटी अपरेटर अफिसरमा समेत केही पदका लागि जागिर खुलाइएको छ । क वर्गको बित्तीय संस्थामा सम्बन्धित कामको कम्तीमा २ वर्ष अनुभव प्राप्त गरेको तथा कम्प्युटर साइन्स, कम्प्युटर इञ्जिनियरिंग, इलेक्टोनिक्स तथा कम्यूनिकेसन इञ्जिनियरिंगमा स्नातक गरेकाले यो पदमा दरखास्त दिन सक्नेछन् । 
 

केही संख्यामा नेटवर्क तथा सेक्युरिटी असिस्टेन्ट पदमा समेत जागिर खुलाइएको छ । यो पदमा चाहि एकवर्ष अनुभव भएको तथा कम्प्युटर साइन्स, कम्प्युटर इञ्जिनियरिंग, इलेक्टोनिक्स तथा कम्यूनिकेसन इञ्जिनियरिंगमा स्नातक उत्तीर्णले दरखास्त दिन सक्ने बताइएको छ । 
 

बैंकले काठमाण्डौ भन्दा बाहिरका शाखाहरुमा काम गर्ने गरी टेनी असिस्टेन्ट पदमा समेत जागिर खुलाएको छ । यो पदमा व्यवस्थापन संकायमा स्नातक गरेका तथा २८ वर्ष ननाघेकोले दरखास्त दिन सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । यो पदका लागि इच्छुकसँग स्नातकमा कम्तीमा ५० प्रतिशत अंक हुनुपर्ने र नेपाली र अंग्रेजी भाषामो बोल्न र लेख्न जान्ने हुनुपर्ने समेत उल्लेख छ । 
 

बैंकले खुलाएको विभिन्न जागिरका अवसर प्राप्त गर्न इच्छुकहरुले आवेदन पत्रका साथ व्यक्तिगत बायोडाटा, नागरिकताको फोटोकपी, हालसालैको पासपोर्ट साइजको फोटो, शैक्षिक प्रमाणपत्रको प्रतिसहित आउँदो मार्च १३ सम्ममा अनलाइनबाट दरखास्त दिनसक्ने बताइएको छ । 
 

यसैबीच, केडिया अर्गनाइजेसनले संचालन गरेको वृज सिमेन्ट इण्डष्टिज प्रा.लि.का लागि समेत विभिन्न ५ पदमा ९ जनाका लागि जागिरको अवसर खुलेको छ । 

सिमेन्ट उद्योगले एकजना प्रोजेक्ट म्यानेजरको पदमा दरखास्त आह्वान गरेको छ । यो पदका लागि सिभिल इञ्जिनियरिंगमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । यसैगरी, एकजना असिस्टेन्ट प्रोजेक्ट म्यानेजरका लागि समेत दरखास्त आह्वान गरिएको छ । यो पदमा समेत सम्बन्धित क्षेत्रमा स्नातक उतीर्ण गरी २ वर्षको अनुभव प्राप्त गरेको हुनेले आवेदन दिन सक्नेछन् । भैरहवाका लागि डिस्प्याच म्यानेजरको पदमा समेत जागिरको अवसर खुलाइएको छ । स्नातक गरेकोले यो पदमा आवेदन दिन सक्नेछ । भैरहवा र काठमाण्डौका लागि २ जना लेखापाल पनि मागिएको छ । यो पदमा स्नातक गरेकोले आवेदन दिन सक्नेछ । धादिंग, त्रिशूली, काठमाण्डौ र भैरहवाका लागि १ जनाको दरले कुल ४ जना सेल्स अफिसरका लागि समेत आवेदन मागिएको छ । यो पदमा इच्छुकसँग स्नातक उतीर्णको प्रमाणपत्र हुनुपर्ने र सेल्सको अनुभव समेत हुनुपर्ने उल्लेख छ । सिमेन्ट उद्योगले खुलाएका नयाँ जागिरका लागि इच्छुकहरुले आइतबारदेखि १५ दिनको अवधिमा इमेलबाट आवेदन दिन सक्नेछन् ।