काठमाण्डौ । बैंक कर्मचारी बेइमान भएर जनताको निक्षेपमा मनपरी गर्दा त्यसले आम लगानीकर्तालाई कसरी केही दिनमै डूूबाइदिन्छ भन्ने कुरा भारतमा हालै भएको पञ्जाब नेशनल बैंक(पिएनबी)को ११ हजार करोड भन्दा बढी भारुको घोटाला प्रकरणले देखाएको छ । भारतकै दोश्रो ठूलो बैंक पिएनबीमा हिरा कारोबारी निरव मोदी र उनका मामा मेहुल चौकसीले मिलेमतोमा ११ हजार ३ सय करोड भारु चप्काइदिए । यो प्रकरण बाहिरिएसँगै यसले सेयर बजारमा समेत उथलपुुथल भएको छ । पिएनबीको सेयरमा आँखा चिम्लिएर लगानी गर्ने लगानीकर्ताहरुले यही प्रकरणका कारण गत ५ दिनमा अरबौं रुपैयाँ सकेका छन् । किनभने यो ५ दिनमा बैंकको मार्केट भ्यालूएसनमा १० हजार ९ सय ३९ करोड भारुले कमी आइसकेको छ, भलै मंगलबार यो बैंकको सेयर मूल्यमा सामान्य मात्र सुधार देखियो । 

गत हप्ताको ४ दिनको कारोबारमा यो बैंकको सेयर मूल्यमा २८ प्रतिशतको गिरावट आइसकेको देखिएको भारतीय न्यूज एजेन्सीहरुले जनाएका छन् । पिएनबीको मार्केट भ्यालूूएसन फेब्रुुअरी १२ मा ३९ हजार २ सय ९ करोड भारु थियो, जुन मंगलबार घटेर २८२७०.२२ करोड भारुमा सीमित बन्न पुुगेको छ । 

बम्बई स्टक एक्सचेञ्जका अनुसार पिएनबीमा ५७.०४ प्रतिशत भारत सरकारको लगानी छ । यसको अर्थ सरकारलाई मात्र सेयर मूल्यमा आएको भारी गिरावटका कारण ६२७४ करोड भारु घाटा लागिसकेको छ । यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआइसी)लाई मात्र १५३२ करोड भारु घाटा लागेको छ, जसको बैंकमा सेयर हिस्सेदारी १३.९३ प्रतिशत रहेको छ । 

बाँकी हिस्सेदारी सर्वसाधारण लगानीकर्ताको छ । यसको अर्थ पिएनबी घोटाला प्रकरणका कारण सर्वसाधारणले समेत ५ दिनमै करोडौं रुपैयाँ गुमाएका छन् ।