-भक्तराज रसाइली

काठमाण्डौ । बैंक तथा डिम्याट इन्टीग्रेसनमा नेप्सेकै उच्च अधिकारीको मत बाझिएको छ । 

सो विषयमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र आइटी प्रमुख निराजञ्नसिंह नायकको मत बाझिएको हो । 

बैंक तथा डिम्याट इन्टीग्रेसनमा आइटी प्रमुख नायकले चलखेल गरिरहेका संगीन आरोप लागिरहेको बेला सो बिषयमा देखिएको मतान्तरले शंका गर्ने ठाउँ बनाइदिएको छ । 

बैंक र डिम्याट इन्टीग्रेसन फूल फेजको अनलाइन कारोबार प्रणालीका लागि महत्वपूर्ण कडी हो । यो बिना लगानीकर्ताले अनलाइन कारोबार पूर्ण अनुभूति गर्न पाउँदैनन् । अनलाइन कारोबारका सबै काम गरे पनि भुक्तानी भने अनलाइन गर्न सक्दैनन् । अहिले यो विषय निकै पेचिलो बन्दै गएको छ भने नेप्से र भेण्डर कम्पनी वाइकोका कतिपय अधिकारीहरुले इन्टीग्रेसनमा चलखेल गरिरहेका आरोप समेत लाग्न थालेको छ । 

यो बिषयमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई बुझ्दा अब कनेक्ट आईपीएसलाई जिम्मा दिने र इच्छुक सबै बैंकहरुलाई बैंक इन्टीग्रेसनमा समाहित गराउन आफूले चाहेको दाबी गरे । 

उनले सबै बैंकहरुलाई इन्टीग्रेसनमा सहभागी गराउन चाहेको भने पनि नेप्सेकै आइटी प्रमुख निराञ्जनसिंह नायकले भने सो काममा आबद्ध हुन चाहने बैंकहरुलाई समेत समान व्यवहार नगरेका देखिएको छ । उनले पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंकलाई मात्र बढी बोकिरहेका देखिएको छ । प्रभू बैंकस्थित स्रोतले त नायक कै नाम किटान गरेर इन्टीग्रेसनमा आफूहरुले चाहना राखे पनि अवरोध सिर्जना गर्न खोजिएकोसम्म भन्न भ्याएको छ । 

इन्टीग्रेसनकै लागि भनेर सिडिएससीले सबै लगानीकर्ताहरुको डिम्याटको डाटा नेप्सेलाई उपलब्ध भइसकेको स्रोत बताउँछ । जानकारहरुले यस्तो अवस्थामा चाहँदा २४ घण्टाभित्र हुने काम किन लामो समयसम्म अड्काइदैछ भन्ने बिषयले थप अन्यौल सिर्जना गरेको बताएका छन् ।

एकातिर इन्टीग्रेसनको विषयमा जानाजान अन्यौल सिर्जना गर्न खोजिएको छ भने अनलाइन प्रणालीमा अझै पनि देखिएका साना समस्याहरुमा आफ्नो कमजोरी लुकाउन लगानीकर्ताको टाउकोमा दोष थोपर्ने प्रवृति समेत देखिएको छ । अनलाइन ट्रेडिङ गर्न भनेर लगानीकर्ताहरुले चलाउने क्रममा आफ्नो डिम्याटमा नै सेयर नभएको ब्लण्डर गल्ती नेप्सेको सिस्टममा देखिएको थियो । आइटी प्रमुख नायकको चातुर्यताका कारण नेप्सेलाई बेलुकी प्रेस विज्ञप्ति निकाल्न लगाउँदै लगानीकर्ताहरुले गलत नम्बर प्रविष्ट गरेको भनेर सेयर लगानीकर्ता र ब्रोकरलाई समेत आरोप लगाउँदै आफूले गरेको गल्ती ढाकछोप गर्ने प्रयास गरेका देखिएको छ । वास्तवमा वाईकोले बनाएको नट्समा कि त सबै लगानीकर्ता अनलाइनमा आवद्ध हुनुपर्ने अनि मात्र डिम्याट इन्टीग्रेसन हुने, नत्र नहुने अर्थात् सबैको अनलाइनमा आवद्ध भए मात्रै सिस्टममा देखाउने भएकाले लगानीकर्तालाई दोष थोपरेर आइटीको कमजोरी छोपछाप पार्ने काम भइरहेको देखिएको हो ।

के भन्छन् विज्ञ ?
रबिन्द्र भट्टराई ,सेयर  बजार विश्लेषक 
नेप्सेको व्यवस्थापन सबैभन्दा कमजोर देखिन्छ । क्लियरिङ्ग बैंकको काम गरिरहेका बैंकले त्यो हुन नदिन प्रयास गर्ने छ्न । किनकी उनीहरुको बिजनेस गुम्ने छ । त्यसैगरी ऋणमा कारोबार गर्ने ठूला लगानीकर्ता पनि यसको विपक्षमा हुन सक्छन् । 

के भन्छन् ब्रोकरहरु ?
भरत रानाभाट(अध्यक्ष)-स्टक ब्रोकर एसोसिएसन 
हालका लागि चुनौती डिम्याट इन्टीग्रेसन नै हो । हामीलाई नेप्सेले २३ गतेअघि नै भईसकेको जानकारी दिएर झुक्याउने काम गर्यो । वास्तवमा त्यो आजसम्म पनि हल भएको छैन रहेछ । सेयरधनीले बिक्री गर्दा क्लोजआउट हुने समस्या र क्लाईन्ट फसिने सम्भावना बढेको छ । यो डिम्याट इन्टीग्रेसन नभई हुँदै हुँदैन । डिम्याट इन्टीग्रेसन नभएको विषयमा सम्पूर्ण लगानीकर्ताहरुलाई नझुक्याई खुल्ला रुपमा नभएको भन्दिन आग्रह गर्दछु । नत्र लगानीकर्ता, ब्रोकर र नेप्से स्वयंलाई यो घातकसिद्ध हुनेछ ।

सन्तोष मैनाली-ब्रोकर नम्बर ३६
हामीले लगानीकर्ताहरुसँग सम्झौता गरिरहेका छौं । बैंक र डिम्याटको इन्टीग्रेसन चाहिँ जनवरी १ बाट मात्रै सुरु हुने भन्ने कुरा नेप्सेले बताएको छ । 

नीतेश अग्रवाल-ब्रोकर नम्बर १७
बैंक खाता ढिला गरेर बरु डिम्याट खाता चाहिँ अबिलम्ब इन्टीग्रेसन गर्नपर्ने भएकाले अप्ठ्यारो स्थिति सिर्जना हुनसक्ने भयले यो जरुरी छ ।