काठमाण्डौ । बैंक खातामा रहेको पैसा नयाँ ढंगले चोरी हुन थालेको छ । ह्याकरहरुले पैसा चोर्नकै लागि विशेष प्रोग्रामिङ तयार गरेर डिजिटल सुरक्षाको मामलामा कमजोर देशहरुमा आक्रमण गर्न खोजिरहेका विज्ञहरुले बताएका छन् । 

ह्याकरहरुको बैंक अकाउण्टको पैसा उडाउने नयाँ शैलीको विषयमा भारतका विभिन्न बैंकले आफ्ना ग्राहकहरुलाई सचेत गराउन थाले पनि नेपालका बैंकहरु पनि बेखबर झै देखिएका छन् । यसकारण नेपालमा ह्याकरहरुले जुनसुकै बेला सर्वसाधारणको खाताको पैसा उडाउनसक्ने खतरा बढेको छ । 

भारतको सबैभन्दा ठूलो सरकारी बैंक पञ्जाब नेशनल बैंक(पिएनबी)ले आफ्ना ग्राहकहरुलाई यस्तै खालको अलर्ट जारी गरेको छ । नेपालको एभरेष्ट बैंकमा समेत यो बैंकको लगानी रहेको छ । तर, एभरेष्ट बैंकले नै पनि आफ्ना ग्राहकलाई यस्तो अलर्ट जारी गर्न बेवास्ता गरेको देखिन्छ ।

पिएनबीले आफ्नो ट्वीटमा एक सदिंग्ध स्पाईवेयरको विषयमा जानकारी दिएको छ । उसका अनुसार स्पाईवेयरले तपाईको जानकारीबिना नै तपाईको प्राइभेट डेटा चोरी गरी त्यसको दुरुपयोग गरिरहेको छ । यसको माध्यमबाट स्पाइवेयरले तपाईको बैंक खाताको डिटेल संकलन गरी अकाउण्टमा भएको पैसा उडाइदिनसक्छ । 

पिएनबीले यस्तो खतरा देखिएपछि आफ्ना ग्राहकलाई ससूचित गराउन एक कार्यक्रम नै थालेको छ । यस कार्यक्रममार्फत बैंकले समय समयमा आफ्नो बैंकसँग सम्बद्ध जानकारी, ग्राहकहरुलाई अलर्ट गर्ने खालको जरुरी सूचना प्रवाह गर्न थालेको छ । यो कार्यक्रमको नाम पिएनबी पाठशाला राखिएको छ, नेपालका बैंकहरुका लागि समेत यो कार्यक्रम उदाहरण बन्नसक्छ । 

पिएनबी पाठशालामा बंैकले यसपटक स्पाईवेयरको विषयमा जानकारी सेयर गरेको हो । स्पाइवेयरमार्फत ग्राहकहरुको फोन कल हिस्ट्री, टेस्ट म्यासेज, प्रयोगकर्ताको लोकेशन, ब्राउजर हिस्ट्री, सम्पर्क नम्बरको सूचि, इमेल र फोटो चोरी गरिन्छ ।

के हो स्पाईवेयर ?
स्पाईवेयरले समेत एक प्रोग्रामले जस्तै काम गर्छ । यसलाई प्रयोगकर्ताको जासूसीका लागि तयार गरिएको हो । यसले आफूलाई बैंकहरुको डिजिटल दुनियाँमा आफूलाई जबरजस्ती प्रवेश गराएर तपाईको अनलाइन कारोबारका हरेक गतिविधिमा निगरानी राख्न सक्छ । यसले तपाईको आइडी, पासवर्ड, क्रेडिट कार्ड नम्बर र इन्टरनेट चलाउने तपाईको आदतलाई नजिकबाट पढ्छ । स्पाईवेयरले तपाईको किबोर्ड, भिडियो वा माइक्रोफोन समेत रेकर्ड गर्नसक्छ ।

यी काम नगर्नू
यस्तो ठगीबाट बच्नका लागि स्पाईवेयरको विषयमा ध्यान दिनुपर्ने हुन्छ । कुनै पनि यस्तो एप वा थिम आफ्नो मोवाइल, कम्प्युटर वा ल्यापटपमा इन्स्टल गर्नुहुँदैन, जसमा तपाईको कल हिस्ट्री, म्यासेज वा अन्य कुनै जरुरी जानकारीसँग सम्बन्धित एक्सेस मागिएको होस् । किनभने स्पाईवेयरले तपाईले पोस्ट गर्नुभएको महत्वपूर्ण सूचनाको मद्धतले तपाईको बैंक खाताको पैसा चोरी गर्नसक्छ । 

कसरी हुने सुरक्षित ?

  • कुनै पनि यस्तो सफ्टवेयर इन्स्टल नगर्नू, जसमार्फत मालवेयरको आक्रमण होस्
  • राम्रो खालको एन्टीभाइरस इन्स्टल गर्नुहोस्
  • एन्टी भाइरसको नक्कली पपअपमा झुक्किएर पनि क्लिक नगर्नुहोस्
  • मोवाइल वा ल्यापटपको अपरेटिङ सिस्टमलाई सधैं अपडेट राख्नुहोस्
  • पाइरेटेड एप वा सफ्टवेयरबाट सधैं बच्नुहोस्