-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले भोलि(बिहीबार)देखि एनसीएचएलमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरुलाई नेप्से अनलाइन ट्रेडिङ सिस्टम(नट्स)प्रणालीमा एकीकृत गर्ने भएको छ ।

भोलिदेखि अनौपचारिक रुपमा नेप्सेको अनलाइन प्रणालीमा बैंकिङ इन्टीग्रेसनको थालनी गरिने र अर्को साता औपचारिक रुपमा एक कार्यक्रमको आयोजना गरी सो सेवा सुचारु भएको जानकारी गराइने कार्यतालिका रहेको  नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

नेप्सेका आइटी विभाग प्रमुख निराञ्जन सिंह नायकले बिहीबार कारोबार समय(३ बजे)ंपछि बैंक इन्टीग्रेसनको सुरुवात गरिने जानकारी दिए । सिस्टम परीक्षण सफल भएको र आइतबारदेखि हुने सेयर कारोबारबाट कार्यान्वयनमा आउने गरी भोलिबाट औपचारिक रुपमा नै ४ वटा क्लियरिङ बैंकका साथमा थप एनसीएचएलमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुलाई जोड्न लागेको नायकको भनाई छ ।

यता, स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले अधिकांश ब्रोकर कम्पनीहरुले एनसीएचएलमा आवद्ध भई बैकिङ इन्ट्रीगेसनमा सहभागी बन्न आ–आफ्ना कम्पनीका तर्फबाट अनुरोध पठाइसकिएको बताए । 

हाल बैंकिङ इन्टीग्रेसनपछि हुने पूर्ण अनलाइन कारोबारका लागि दैनिक कारोबार सीमा १ लाखसम्मको मात्र हुनेछ । तर, रानाभाटले सीमाको यो वन्देज हट्ने विश्वास व्यक्त गरे ।

एनसीएचएलका सीइओ नीलेशमान सिंह प्रधानका अनुसार क्लियरिङ हाउसका तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी भइसकेको छ । बैंक इन्टीग्रेसनका लागि अधिकांश ब्रोकर कम्पनीहरु नेप्सेको टीएमएसमा जोडिएका र अब लगानीकर्ताहरुले एनसीएचएलको कनेक्ट आइपीएसको लगइन लिई सेवा लिन सकिने उनको भनाई छ ।

बजार सञ्चालक नेप्सेले सञ्चालनमा ल्याएको आधुनिक अनलाइन कारोबार प्रणाली अन्तर्गत धितोपत्र कारोबार राफसाफका लागि बैंक इन्ट्रीगेसन मार्फत हुने गरी एनसीएचएलमा आबद्ध बैंक तथा वित्तीय संस्थालाई सिस्टमभित्र जडान गरी यो कार्यको सुरुवात गर्न लागेको हो ।

एनसिएचएलको कनेक्ट आइपीएसमा दैनिक १ लाखसम्म र आइपीएसमार्फत दैनिक २० करोडसम्मको सेयर खरिदबिक्री गर्न सकिने बताउँदै सीइओ प्रधानले बिजशालासँग भने–‘सुरुको फेजमा यो प्रणाली सेयर खरिदमा लागू गरिने र दोश्रो चरणमा बिक्रीमा ब्रोकरहरुले नेप्सेको टीएमएसमार्फत नै भुक्तानी व्यवस्था गर्न लागेका छौं ।’

नेप्से अनलाइन ट्रेडिङ सिस्टममा बैंक एकीकृत भएको खण्डमा लगानीकर्ताहरुलाई संसारको जुनसुकै स्थानबाट पनि दोस्रो बजारमा भएको खरिदबिक्रीको भुक्तानी लिन वा दिन सहज हुनेछ । नेप्सेको अनलाइन लगइन लिई सहज रुपमा सेयर खरिदबिक्री गरिरहेका भएतापनि बैंक इन्टीग्रेसनपछि इन्टरनेट पुगेका संसारका जुनसुकै स्थानबाट नेपालीहरुले सजिलै सेयर कारोबार गर्न सक्नेछन् ।

यो व्यवस्था भएसँगै नेपालको पूँजीबजार स्वदेश तथा बिदेशमा समेत विकास र विस्तार भई मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताइन्छ ।