काठमाण्डौ । नयाँ आर्थिक वर्ष २०७६/७७ को सुरुआतसँगै विभिन्न बैंक, वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् ।

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सातवटै प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका आफ्ना शाखाहरुका लागि थुप्रै कर्मचारी माग गरेको छ । कम्पनीले नवप्रवेशी र अनुभवी दुवै खालका कर्मचारी जागिरको अवसर सिर्जना गरेको छ । 

कम्पनीले शाखा प्रबन्धक, उपशाखा इन्चार्ज, अपरेसन इन्चार्ज, सिनियर अफिसरदेखि जुनियर अफिसरसम्म कामदार माग गरेको हो । कम्पनीले प्रदेश १ को बिर्तामोड, खाँदबारी, कटारी, भोजपुर, दिक्तेल, तेह्रथुम, सोलुखुम्बु, ताप्लेजुङ र इटहरी तथा प्रदेश २ को वीरगन्ज, कलैया, लहान, जनकपुर, सिमरा, बर्दिबास, सुवर्णपुर, सिम्रौनगढ, चन्द्रपुर, गौर, बरथहवा, मलंगवा, सबैला, सिरहा र कञ्चनपुरमा ती पदका लागि केही कर्मचारी माग गरेको छ । 

यसैगरी प्रदेश ३ को काठमाण्डौ उपत्यका, चरीकोट, रामेछाप, बाह्रबिसे, धार्के, फर्पिङ र बनेपा, प्रदेश ४ को पोखरा, लेखनाथ, बागलुङ, गोरखा, बेनी, गलकोट, वालिङ, कुस्मा, जोमसम र खैरेनी, प्रदेश ५ को बुटवल, नेपालगन्ज, कपिलवस्तु, भैरहवा, लमही, कोहलपुर, रोल्पा, सन्धिखर्क, तम्घास, रामपुर, भुरीगाउँ, जितपुर, रुकुमकोट र भुमही, प्रदेश ६ को सुर्खेत, कालिकोट, मिहेलकुना, दैलेख, सल्यान, बबियाचौर, चौरजहारी र जुम्ला तथा प्रदेश ७ का धनगढी, टीकापुर, डोटी, बझाङ, अत्तरिया, साँफेबगर (अछाम), पाटन (बैतडी, जोगबुढा (डडेल्धुरा), सुखड (कैलाली) का लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो । 

माथि उल्लेख पदहरुमा आवेदन कम्पनीमा सम्बन्धित विषयमा द्वितीय श्रेणीमा स्नातक उत्तीर्ण हुनुपर्ने छ भने अनुभवीलाई ग्राह्यता दिइने कम्पनीले जनाएको छ। आवेदन साउन १५ गतेभित्र कम्पनीको ई–मेल hr@prabhulife.com मा पठाइसक्नुपर्ने छ । 

यसैगरी माछापुच्छ्रे बैंकले केही संख्यामा असिस्टेन्ट बिजनेस एनालिस्ट पदमा असिस्टेन्ट तहका कर्मचारी माग गरेको छ । यो पदमा काम गर्नका लागि आवेदकले कम्तीमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधिमा स्नातक गरेको हुनुपर्नेछ । 
योग्यता पुगेका उम्मेदवार बैंकको ई–मेल hrd@mbl.com.np मा आफ्नो दरखास्त जुलाई २३ भित्र पठाउनुपर्ने छ । 
यसैगरी कामना सेवा विकास बैंक लिमिटेडले उपत्यकासहित थुप्रै जिल्लामा रहेका शाखाहरु तथा खोल्न लागिएका शाखाहरुका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । 
बैंकले विशेषगरी जुनियर लेभलका कर्मचारीहरु माग गरेको छ । बैंकले जुनियर अफिसर, असिस्टेन्ट मेनेजर, सिनियर असिस्टेन्ट, सुभरभाइरजजस्ता पदमा कर्मचारीहरु माग गरेको छ । 
यी पदका लागि व्यवस्थापन तथा अर्थशास्त्र विषयमा कम्तीमा स्नातकदेखि स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरी सम्बन्धित कामको कम्तीमा ३ वर्षको कार्यानुभव रहेको हुनुपर्ने छ । 
योग्यता पुगेका उम्मेदवारले जुलाई ३० भित्र बैंकको वेब–साइट www.kamanasewabank.com मा गएर अनलाइन आवेदन दिन सक्नेछन् ।