-भक्तराज रसाइली
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड(सिडिएससी)ले बैशाखभित्र पूँजीबजारमा डिजिटल केवाइसी लञ्च गर्ने तयारी गरेको छ ।

सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताका अनुसार डिजिटल केवाइसी पूँजी बजारलाई व्यवस्थित गर्न डिजाइन गरिएको हो । 

दुई दिनअघि मात्र धितोप बोर्डमा डिजिटल केवाइसीको डेमो देखायौं । गुप्ताले बिजशालासँग भने,सेबोन सकारात्मक छ, अब छिट्टै अनुमति पाउने आशामा छौं । 

आगामी साता बैंकका डीपी र त्यसपछि ब्रोकर कम्पनीका डीपीलाई समेत डेमो देखाउन लागिएको गुप्ताको भनाइ छ ।

डिजिटल केवाइसीमा कन्ट्री कोड, स्टेट कोड, डिस्ट्रिक्ट कोड, लोकल कोड र ७ डिजिटको नम्बरसहित जम्मा १५ नम्बरको डिजिटल केवाइसीको युनिक आइडी दिइनेछ । गुप्ताले भने–‘६९ वटा डीपी र ५० वटा ब्रोकर कम्पनी गरी १ सय २९ ठाउँमा कारोबार गर्न सोही १५ डिजिटको युनिक आइडीबाट केवाइसी भर्ने झञ्झटबाट मुक्ति दिलाउन लागिएको हो । 

यो व्यवस्थाबाट ग्राहकका सूचनामा एकरुपता आउने, कम झञ्झट हुने र मल्टिपल एकाउण्ट लिएर बसेका कारोबारीलाई सहज हुने गुप्ताको दाबी छ।

निःशुल्क रुपमा उपलब्ध हुने डिजिटल केवाइसीको १५ डिजिट युनिक आइडी सेवाग्राहीले आफ्ना डीपीमार्फत सजिलै लिनसक्ने व्यवस्था गरिन लागेको गुप्ताले बताए ।

यो डिजिटल केवाइसी बैंक तथा वित्तीय संस्था, दूरसञ्चार कम्पनीहरुमा समेत भविष्यमा प्रयोग गर्न सकिन उनले जानकारी दिए ।

हाल सेयर लगानीकर्ताहरुले डीपी वा ब्रोकरैपिच्छे केवाइसी फर्म भर्न परिरहेकोमा डिजिटल केवाइसी सञ्चालनमा आएमा लगानीकर्ताहरुलाई धेरै राहात हुने जानकारहरुको भनाई छ । 

यसबाट कागजी खर्चमा पनि मितव्ययिता आउनका साथै अनावश्यक झञ्झटबाट मुक्ति मिल्ने केही ब्रोकर कम्पनीका डीपी सञ्चालकहरुले बताए।