काठमाण्डौ । बहुचर्चित स्ट्याण्डर्ड चार्टर्ड बैंकको  एफपीओको बाँडफाँड आगामी बैशाख २१ गते गरिने भएको छ ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलका एक अधिकारीले बैशाख २१ गते बाँडफाँड हुने गरी अन्तिम तयारी थालिएको जानकारी दिए ।

यसअघि  स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा करिब ३८ अर्ब रकम फ्रिज हुँदा तरलतामा समस्या भएको भन्दै बैशाख २२ गतेभित्र बाँडफाँड सक्न नेपाल धितोपत्र बोर्डले बिक्री प्रबन्धक एनएमबी क्यापिटललाई निर्देशन दिएको थियो । निर्देशनपछि तीव्र रफ्तारमा काम गरेको क्यापिटलले बैशाख २१ गतेलाई एफपीओ बाँडफाँडको मिति तय गरेको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत चैत १ देखि ४ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यमा ११९० रुपैयाँ प्रिमियम थपी प्रति कित्ता कुल १२ सय ९० रुपैयाँको दरले एफपीओ निश्कासन गरेको थियो । कुल ३ अर्ब ३० करोड मूल्यको एफपीओमा ३८ अर्ब भन्दा बढीको आवेदन परेको थियो । देशभरका  संकलन केन्द्रबाट २ लाख २५ हजार बढी लगानीकर्ताले एफपीओका लागि आवेदन दिएका छन् ।

एफपीओको बाँडफाँडपछि बैंकको चुक्तापुँजी ४ अर्ब पुग्नेछ भने जगेडा कोषमा ३ अर्ब ४ करोड रुपैयाँ पुग्नेछ । एफपीओको बाँडफाँडपछि विदेशी लगानीको यो बैंकमा संस्थापक र साधारण सेयरधनीको स्वामित्व संरचना ७०.२१ : २९.७९ प्रतिशत कायम हुनेछ ।

यो बैंकले एफपीओ बिक्रीबाट प्राप्त प्रिमियमबापतको रकम र चालु आर्थिक वर्षको खुद नाफाबाट लगानीकर्तालाई सतप्रतिशत बोनस दिने योजना बनाएको छ । बोनसबाटै ४ अर्ब थपेर यो बैंकले नेपालीको पैसाबाटै आरामले नेपाल राष्ट्रबैंकले तोकेको चुक्तापुँजी ८ अर्ब पुर्याउने चलाखीपूर्ण बाटो रोजेको हो । अन्य बैंकका सेयरधनीले ढाड फुस्किने गरी हकप्रदमा पैसा हालिरहेको बेला स्ट्याण्डर्डले भने सजिलो बाटो रोजेको हो ।