काठमाण्डौ । इथोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमान क्र्यास भएपछि यस्तै मोडलका अन्य विमानको सुरक्षामा समेत विश्वभर गम्भीर प्रश्न उठेको छ । लगभग विश्वका सबै सरकारहरुले बोइङको उडानमा प्रतिबन्ध लगाइसकेका छन् ।

त्यतिमात्र होइन, विश्वभरका कैयन एयरलाइन्स कम्पनीहरुले बोइङ खरीदका लागि दिएको अर्डर समेत रद्ध गर्न थालेका समाचारहरु प्राप्त भएका छन् । कतिपय कम्पनीले त बोइङ किन्ने पूर्व निर्णय रद्ध नै भएको घोषणा समेत गरिसकेका छन् ।

एजेन्सीहरुका अनुसार बोइङ–७३७ म्याक्स विमान लगातार क्र्यास हुन थालेपछि  विश्वभरका कैयौ एयरलाइन्स कम्पनीहरुले यस्ता विमान खरीदका लागि बोइङलाई दिएको अर्डरमा पुनर्विचार गर्न थालेका छन्, जसका कारण कम्पनीले प्राप्त गरेको ६७ लाख करोड रुपैयाँ बराबरको अर्डरमा संकटको बादल मडारिन थालेको छ । 

पछिल्लोपटक इथोपियन एयरलाइन्सको बोइङ दुर्घटना भएको थियो, त्यसअघि अक्टूबरमा अर्को बोइङ समेत क्र्यास भएको थियो ।

गत महिना बोइङ–७३७ म्याक्सको मागलाई दुईगुणा गरेको(करिब २५ अर्ब डलरको अर्डर दिएको) विमान कम्पनी भियतजेट एभिएसन जेएससीले भनेको छ कि दुर्घटनाका खास कारण बाहिर आएपछि मात्र उसले विमान खरीदको विषयमा निर्णय लिनेछ । 

केन्या एयरवेज पिएलसीले म्याक्स खरीदको विषयमा गरिएको निर्णयमाथि पुनर्विचारमा रहेको बताएको छ भने उसले बोइङको प्रतिस्पर्धी कम्पनी एयरबस एसईबाट ए–३२० बिमान खरीद गर्न सक्नेछ । 

यस्तै, रुसको अर्को एयरवेज उतेयर एभिएसन पीजेएससीले ३० वटा विमानको डेलिभरी लिनुअघि बोइङबाट विमान सुरक्षाको ग्यारेण्टी खोजिरहेको समाचारमा उल्लेख छ ।

ब्लुमबर्गमा छापिएको एक रिपोर्टअनुसार दुर्घटनाका कारण इण्डोनेशियाको लाइन एयर फम्र्सले विमानका लागि गरेको २२ अर्ब डलरको अर्डर बोइङको ठाउँमा एयरबस जेटलाई दिइसकेको छ । विभिन्न स्रोतहरुलाई उद्धृत गर्दै समाचारमा यस्तो दाबी गरिएको छ । 

यस्तै, गरुड इण्डोनेशियाले विमानको अर्डर बोइङलाई नदिने पक्षमा उभिइसकेको छ भने साउदी अरब एयरलाइन्सले समेत बोइङलाई दिइएको ५.९ अर्ब डलर बराबरको अर्डर रद्ध गरिदिइसकेको छ ।

बोइङ–७३७ विश्वभरकै एभिएसन उद्योगमा सबैभन्दा बढी बिक्ने बिमानको मोडल हो । बोइङले सर्वाधिक कमाई पनि यो मोडलबाट गर्ने गर्छ । यो विमान पहिलोपटक १९६० को अन्तदेखि सेवामा आएको थियो । 

यसरी इथोपियन एयरलाइन्सको बोइङ विमान दुर्घटनापछि सफलताको आकाश चुमिरहेको बोइङ धर्तिमा बजारिने अवस्थामा पुगेको छ ।