काठमाण्डौ । एफपीओ पाउनेले समेत १५ प्रतिशत बोनस सेयर पाउने एनएमबी बैंकको प्रस्तावपछि उसको एफपीओ बिक्री केही तीव्र भएको देखिएको छ । 

एनएमबी बैंकले जेठ ३० गतेदेखि प्रिमियमसहित प्रतिकित्ता ३३३ रुपैयाँमा निश्कासन गरेको एफपीओमा बुधबारसम्म २ अर्ब ७६ करोड बढीको आवेदन परेको हो । 

बैंकको एफपीओ खरीदका लागि ६६ हजार ३ सय जनाले आवेदन दिएका छन् । बैंकले ३ अर्ब ८० करोडको कुल एफपीओ निश्कासन गरेकोमा अझै २७ प्रतिशत एफपीओ बिक्री हुन बाँकी छ । एफपीओको बिक्री प्रबन्धक नागरिक लगानीकोषका अनुसार बैंकले निश्कासन गरेको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्तामध्ये ८३ लाख कित्ताको हाराहारीमा बिक्री भइसकेको छ । 

एनएमबी बैंकको एफपीओमा आवेदन दिने असार २८ गते बिहीबार अन्तिम दिन भएकोले यो दिन निकै धेरै आवेदन पर्नसक्ने अनुमान गरिएको छ । 

एनएमबी बैंकको असार २६ गते बसेको बोर्ड बैठकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित बोनस एफपीओ पर्नेहरुले समेत पाउने बताइएको छ । यसले समेत लगानीकर्तालाई एफपीओप्रति एकाएक आकर्षित गरेको हो।