काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले बोनस सेयर जारी गरी चुक्तापूँजी ८ अर्ब ६ करोडको उचाईमा पुर्याएको छ । 

देशकै कान्छो वाणिज्य बैंकले राष्टबैंकले तोकिएको समयभित्रै चुक्तापूँजी ८ अर्ब माथि पुर्याएको हो। 

बैंकको बुधबार काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभाले ५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेसँगै बैंकको चुक्तापूँजी ८ अर्ब ६ करोड पुुगेको हो । 

साधारणसभाले यसअघि संचालक समितिबाट भएको ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको छ । 

चालु आर्थिक वर्षको पुस मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ५२.१७ अर्ब र कर्जा रकम रु. ४७.०२ अर्ब परिचालन गरी रु. ३९.२७ करोड सञ्चालन मुनाफा र रु. ३२.५१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।