काठमाण्डौ । मर्जर प्रक्रियालाई टुंगो लगाउन नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डाकेको छ ।

संस्थाको सञ्चालक समितिको गत भदौ १२ गते बसेको बैठले विशेष साधारणसभाको मिति र स्थान तय गरेको हो । संस्थाले आउँदो असोज २ गते बिहीबार विशेष साधारणसभा डाकेको छ । विशेष साधारणसभा काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्यानड एन्ड बैंकेट्समा आयोजना गरिने भएको छ ।

विशेष साधारणसभाले प्रमुख अजेन्डाका रुपमा पेस हुने नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बोमी लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै अर्को प्रमुख अजेन्डाका रुपमा पेस गरिने आपसमा गाभ्ने/गाभिने कार्य प्रयोजनका लागि तयार पारिएको चल/अचल सम्पत्ति तथा कारोबार मूल्यांकन (डीडीए) सम्बन्धी प्रतिवेदन तथा दुवै संस्थाको बोर्डको निर्णय र संयुक्त मर्जर समितिबाट नागरिक लघुवित्तको १०० कित्ताबराबर बोमी लघुवित्तको ७२ कित्ता सेयर कायम हुने गरी सिफारिस गरिएको सेयर स्वाप अनुपातलाई पनि विशेष साधारणसभाले पारित गर्नेछ । यसैगरी आपसमा गाभ्ने/गाभिने कार्यका लागि अन्तिम सम्झौता गर्न सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ ।

विशेष साधारणसभाले मर्जरपछि संस्थाको नयाँ नाम बोमी लघुवित्त वित्तीय संस्था लिमिटेड रहने र केन्द्रीय कार्यालय हालको नागरिक लघुवित्तको कार्यालय नै हुने प्रस्ताव पनि पारित गर्नेछ ।

संस्थाको सीईओमा बोमी लघुवित्तका हालका सीईओलाई नै नियुक्त गर्ने प्रस्ताव पनि विशेष साधारणसभाले पारित गर्नेछ ।