काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले घुमाउरो ढंगले धितोपत्र बोर्डको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ । 

उसले बुधबार एक विज्ञप्ति जारी गर्दै दोश्रो बजार सुधारका लागि नेप्सेले पर्याप्त प्रयास गरे पनि अनर्गल प्रचारबाजी गरी नेप्सेको नेतृत्वलाई असक्षम बनाउन खोजिएको भन्दै आपत्ति समेत जनाएको छ । 

‘बजारको सुधारका निम्ति थालिएका विविध कार्यहरुलाई सुनियोजित रुपमा रोक्ने अनि नेप्सेले काम गरेन, यसको नेतृत्व असक्षम भयो भन्दै अनर्गल प्रचार गर्ने कार्य अशोभनीय तथा निन्दनीय हो ।’ नेप्सेले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ–‘सकारात्मक दिशामा अगाडि बढेको सक्षम सार्वजनिक संस्थानको छवि धमिल्याएर कसैको हित हुँदैन ।’

नेप्सेले आम लगानीकर्तालाई आफ्नो वेभसाइटमार्फत मार्केट डेप्थ देखाउने प्रयासमा पनि बाधाहरु व्यहोर्नु परेको, अनेकौ कानूनी झञ्झट तेस्र्याइएको उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ–‘सूचीकृत कम्पनीहरुको धितोपत्रहरुको बजार मूल्यमा प्रभाव पर्ने सूचनाहरु नेप्सेकै वेभसाइट मार्फत सार्वजनिक गर्ने विषयमा पनि नेप्सेले कठिनाई व्यहोर्नुपर्यो । छिटोभन्दा छिटो लगानीकर्तालाई सूचना उपलब्ध गराउनेजस्तो आधारभूत विषयमा असहयोग हुनु बिडम्बनापूर्ण थियो ।’ 

विगत चार वर्षमा समग्र पुँजी बजारको विकासका लागि नेप्से र यसको नेतृत्वले आफ्नो स्रोत साधनले भ्याएसम्म प्रयास गरेको विज्ञप्तिमा दाबी गरिएको छ ।

नेप्सेकै प्रयासस्वरुप हाल काठमाडौं उपत्यकासहित देशका २२ सहरहरुबाट धितोपत्रको दैनिक कारोबार सम्भव भएको उसको प्रष्टोक्ति छ । ‘विगत अढाई दशकदेखि धितोपत्रको दोस्रो बजार सेवाबाट वञ्चित सर्वसाधारणले दैनिक कारोबारमा सहज पहुँच पाएका छन्। धितोपत्रको दोस्रो बजार साँचो अर्थमा काठमाडौं बाहिर पुगेको छ ।’ नेप्सेले भनेको छ–‘सदस्य दलालको आरएसडब्ल्यूू(शाखा) मार्फत दोस्रो बजार कारोबारलाई देशव्यापी बनाउने प्रयासमा अड्चन नआएका होइनन्।’ 

धितोपत्रको दोस्रो बजार कारोबारलाई कागजी झन्झटमूक्त बनाइएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ–‘कागजी धितोपत्र प्रमाणपत्रको कारोबार हुँदै आएको बजारमा नेप्सेको सहायक कम्पनीको रुपमा स्थापित सिडिएस एन्ड क्लियरिङ लिमिटेड स्थापना भएपछि पनि लामो समय गतिहीन अवस्थामा रहेको थियो । नेप्सेको वर्तमान नेतृत्वकै सक्रियतामा सिडिएससी पूर्ण रुपमा सञ्चालनमा आएको र यसको लाभ आम लगानीकर्ताले प्राप्त गरेको तथ्यलाई बिर्सनु हुँदैन ।’

दोस्रो बजारमा अन्तर्राष्ट्रियस्तरको आधुनिक अनलाईन स्वचालित कारोबार प्रणाली भित्र्याउने कार्यमा नेप्से अनवरत लागिरहेको विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक खरिद ऐन तथा नियमलाई अवलम्बन गरी सुरु गरिएको अत्याधुनिक कारोबार प्रणाली खरिद प्रक्रिया नेप्सेको योजनाअनुसार नै अगाडि बढेको र बाह्य हस्तक्षेप नभएको भए हाल आम लगानीकर्ताले नेपालमै उच्च स्तरको कारोबार प्रणालीमा सरिक हुने अवसर पाइसकेका हुन्थे भनिएको छ । अन्तर्राष्ट्रियस्तरको आधुनिक अनलाईन स्वचालित कारोबार प्रणाली निर्माणका लागि वाइको कम्पनीसँग सम्झौता गरेको छ । वाइकोले यो प्रणाली निर्माणको काम पनि तीव्र गतिमा गरिरहेको छ । नेप्सेले स्वचालित कारोबार प्रणाली भित्र्याउने प्रक्रियामा समेत अनेकौ बखेडा खडा गरिएको भन्दै रोष प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ–‘सम्झौता भएको मितिले १४ महिनाभित्र प्रणाली उपलब्ध गराउने गरी सम्झौता भएको अवस्थामा अनेकौं बखेडा खडा गरी नेप्सेको अत्याधुनिक प्रणाली भित्र्याउने प्रक्रियालाई सुस्त बनाइएको तथ्य कसैबाट लुकेको छैन ।’