-भक्तराज रसाइली
काठमाण्डौ । भारित लागत औसत विधिबाट पूँजीगत लाभकर गणनाका लागि अन्यौलमा रहेको कट अफ डेट तोक्ने आन्तरिक सहमतिमा सरोकारवाला पुगेका छन् । 

नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सिडिएससी एण्ड क्लियरिङ लिमीटेडका अधिकारीबीच मंगलबार झण्डै ५ घण्टा चलेको छलफलले कट अफ डेट तोक्ने विषयमा आन्तरिक सहमति कायम भएको हो । 

करिब ५ घण्टा लामो भएको त्रिपक्षीय छलफलमा निचोडका रुपमा कट अफ डेट तोक्ने आन्तरिक सहमति भएको बिजशाला स्रोतको भनाइ छ । 

स्रोतका अनुसार २०७२ माघ २ गते वा ०७६ असार ३१ गतेको सेयरको अन्तिम मूल्यलाई कटअफ मानेर भारित औसत लागत गणना गर्न सकिने बताइएको छ । 

यद्यपि अब तीन संस्थाले यसका लागि थप आवश्यक गृहकार्य गर्ने र भोलि पुनः छलफल हुने भएको छ । भोलिको छलफलमा लगानीकर्ता संघसंगठनका नेताहरुलाई समेत सामेल गरी कुनै एक मितिलाई कट अफ डेट मान्ने निर्णयलाई मूर्त रुप दिन लागिएको बिजशाला स्रोतको भनाइ छ । 

भोलि हुने छलफलबाट भएको निर्णय नै अन्तिम भने नहुने बताइएको छ । भोलि बस्ने सर्वपक्षीय निर्णय अर्थमन्त्रालय पठाइने र अर्थमन्त्रालय र आन्तरिक राजश्व विभागको रेसपोन्स पर्खिने सहमति भएको छ । 

भारित औसत लागत गणना गर्दा निश्चित मितिलाई कट अफ तोकेर अघि बढ्दा हालको समस्या निराकरण हुने, तर यसलाई अन्तिम रुप दिने मुख्य जिम्मेवारी भने अर्थमन्त्रालयकै हुने बताइएको छ । 

भारित औसत लागत विधिमा हाल स्वयम्ले कर घोषणा गर्न ब्रोकर कार्यालय पुगी एउटा फर्ममा सहीछाप गर्नुपर्ने बाध्यता छ । यसले गर्दा प्रविधिमैत्री बनिरहेको नेपालको पूँजी बजार पुनः औंठाछाप हाल्न ब्रोकर कार्यालय धाउनुपर्ने बाध्यताप्रति लगानीकर्ताहरुले तीव्र असहमति र आवाज उठाइरहेका छन् ।