काठमाण्डौ । भद्र सहमतिको नाममा बैंकहरुले कायम गरेको ब्याजदरको सिण्डिकेट करिब २ वर्षपछि तोडिएको छ । 

बैंकहरुकै सहमतिमा भद्र सहमति नामको सिण्डिकेट तोडिएको हो । योसँगै अब बैंकहरुले बजारमा आधारित रहेर ब्याजदर तोक्न पाउनेछन् । 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघमा केही दिनअघि भएको छलफलमा बैंकहरुबीच ब्याजदरको भद्र सहमति भंग गरी अगाडि बढ्ने सहमति बनेको हो । 

संघका अध्यक्ष भुवन दाहालले प्रणालीमा तरलता थुप्रिएकोले ब्याजदरको भद्र सहमतिलाई निरन्तरता नदिने सहमति बनेको बताए । उनका अनुसार बैंकहरुले आफ्नो अनुकुलता अनुसारको निर्णय गरी ब्याजदर निर्धारण गर्नेछन् । 

करिब २ वर्षअघि बैंकहरुबीच निक्षेपको ब्याजदर बढाउने होडबाजी चलेपछि अवस्था केही जटिल बनेको थियो । ब्याजदर बढेर साढे १३ प्रतिशतसम्म पुगेपछि नेपाल राष्ट्रबैंकको सुझावमा बैंकर्स संघले ब्याजदरको भद्र सहमति कायम गरेको थियो । 

सो सहमति लामो समयसम्म कायम रहेको थियो । बदलिँदो परिस्थितिका बीच बैंकहरुले केही समयअघि पुरानो सहमतिमा केही संसोधन गरी संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७ प्रतिशत, सर्वसाधारण मुद्दति निक्षेपको ८.५ प्रतिशत र बचतको ५.५ प्रतिशत कायम गर्ने नयाँ सहमति गरेका थिए । अब यो सहमति समेत भंग हुनेछ । बैंकहरुले साउन १ गतेदेखि आफ्नो अनुकुलता हेरेर ब्याजदर निर्धारण गर्नेछन् । 

संघले त्यसरी ब्याजदर निर्धारण गर्दा मुद्रास्फितिलाई समेत ध्यान दिन भनेको छ । हालको मुद्रास्फिति दर ६ प्रतिशत हाराहारीमा छ । यसको अर्थ मुद्धति निक्षेपको ब्याजदर ६ प्रतिशतभन्दा तल भने जाने छैन । 

नेपाल राष्ट्रबैंकका अनुसार प्रणालीमा पछिल्लो एक सातामै निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ। लामो समयदेखि प्रणालीमा तरलता फालाफाल छ ।