काठमाण्डौ । तत्काल १३ प्रतिशत भन्दा माथि नजाने बैंकरहरुबीचको मौखिक सहमति नवील बैंक लिमीटेडले तोडिदिएको छ । 

नवील बैंकले व्यक्तिगत मुद्धती निक्षेपमै साढे १३ प्रतिशतको ब्याजदर अफर गरेपछि ब्याजदर बढाबढको दौडमा केही शान्तजस्तो देखिएका बैंकरहरु पुनः अनियन्त्रित भई अगाडि बढ्नसक्ने खतरा उत्पन्न भएको छ । 

नवील बैंकले मंगलबार नवील सर्ज फिक्स्ड डिपोजिट लञ्च गर्दै १ देखि २ वर्षे अवधिको मुद्धती निक्षेपमा साढे १३ प्रतिशत ब्याज पाइने अफर सार्वजनिक गरेको हो । 

नवील बैंकले १३ प्रतिशत ब्याजमा शाखा प्रबन्धकहरुबाट थप ०.५ प्रतिशत प्रदान गर्न मिल्ने भन्दै साढे १३ प्रतिशत अफर गरेको हो । 

यसअघि नेपाल बैंकर्स संघले कायम गरेको ब्याजदरको भद्र सहमति तोडिएसँगै बैंकहरुबीच ब्याज बढाबढको दौड सुरु भएको थियो । सो क्रममा दुई दिनमै बैंकहरु १३ प्रतिशतको उचाईमा पुगेका थिए । 

साढे १० प्रतिशतमा कायम ब्याजदर २ दिनभित्रै १३ प्रतिशत पुगेपछि बैंकरहरुबीच तत्काल सो भन्दा माथि नजाने सहमति बनेको थियो । 

यो सहमतिमा धेरै बैंक टिकिरहे पनि नवीलले भने फेरि बजार बिगार्ने हिसाबले दर सार्वजनिक गरेको भन्दै बैंकर्स संघमा असन्तुष्टि चुलिएको स्रोतको भनाई छ । 

‘हरेक पटकको सहमतिमा नवील बैंकले घुमाउरो ढंगले अन्य बैंकलाई उत्तेजित बनाउने र बजार बिगार्ने काम गरिरहेको छ ।’ बैंकर्स संघका एक सदस्यले भने–‘पहिला पनि अग्रीम ब्याज भुक्तानी दिने भन्दै नवीलले नै सहमति तोड्ने काम गरेको थियो । ठूलो बैंक नसम्हालिँदा अन्य साना बैंक समेत ब्याजदर बढाउन बाध्य देखिए ।’ 

बैंकहरुबीचको ब्याज बढाबढको दौडले सरकारले निर्धारण गरेको ८ प्रतिशतको जीडीपी ग्रोथको लक्ष्य पूरा नहुने भएपछि अर्थमन्त्रीले ब्याजदरलाई नै बढी केन्द्रमा राखी उच्चस्तरीय अध्ययन समिति समेत बनाएका थिए । सो समितिले आजभोलिभित्र आफ्नो प्रतिवेदन बुझाउँदैछ । 

समितिको प्रतिवेदनसम्म कम्तीमा चूप लागेर बस्ने सहमति गरेका बैंकरहरुबाट सहमति तोड्दै नवील एककदम अगाडि बढ्दा यसले समग्र प्रणालीमै समस्या ल्याउन सक्ने विश्लेषण हुन थालेको छ । 

नवीलसँगै हिमालयन बैंकले समेत ब्याज बढाएर १३ प्रतिशत पुर्याएको छ । यस्तै, इन्भेष्टमेन्ट बैंकले समेत व्यक्तिगत मुद्धती निक्षेपको ब्याज बढाएर १३ प्रतिशत पुर्याउने निर्णय गरिसकेको छ । 

ब्याजद वृद्धि गर्ने ठूला बैंकहरुले साना बैंकले आफ्नो निक्षेप तान्ने अवस्था सिर्जना भएपछि बाध्य भएर ब्याज बढाउनुपरेको स्पष्टीकरण दिंदै आएका छन् ।