-भक्तराज रसाइली 
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकको ब्याजदर नघट्ने प्रष्ट पारेका छन् । 

अर्थमन्त्रालयले मंगलबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरुको प्रश्नको उत्तर दिने क्रममा अर्थमन्त्री डा. खतिवडाले यस्तो कुरा गरेका हुन् । 

कर्जाको माग उच्च रहेको र यो आर्थिक वृद्धिको संकेत हो भन्दै डा. खतिवडाले यस्तो बेलामा बैंक ब्याजदर घट्न संभव नहुने दाबी गरेका हुन् । 

उनले ब्याजदर बजारले नै निर्धारण गर्ने र यसमा आफूले हस्तक्षेप गर्न नसक्ने प्रष्ट पार्दै भने-'ब्याजदर घट्नुपर्छ भनेर तपाई सोध्नुहुन्छ भने कति हुनुपर्ने हो, तपाई पत्रकारहरुले नै तोकिदिए भयो नि त ।' 

उनले बैंक ब्याजदर १६-१७ प्रतिशत हुँदा निजी क्षेत्र प्रताडित भए पनि देशमा पूर्वाधार निर्माण र विकास कार्यले गति लिएको र यसका कारण बैंकहरुमो कर्जाको माग समेत उच्च रहेको दाबी गरे । 

केही वर्षअघि ब्याजदर घटेर ७ प्रतिशतमा सीमित हुँदा चिन्ता लिने आफू मात्र एक्लो व्यक्ति भएको दाबी गर्दै उनले भने अहिले ब्याजदर उच्च भयो भनेर बिलौना गर्नुभन्दा पनि परिस्थितिलाई समेत हेरिदन आवश्यक छ । 

'खुल्ला अर्थतन्त्रमा सरकारले एकैपटक ब्याजदर, बिनिमय दर र मुद्रास्फिति दरमा हस्तक्षेप गरी नियन्त्रण गर्न सक्दैन, यी ३ वटामध्ये २ वटा हामीले नियन्त्रण गर्न सक्छौं तर एउटा बजारलाई छाड्नै पर्छ, यो बजार अर्थशास्त्रको सिद्दान्त हो ।’ उनले भने  ।

उनले केन्द्रीय बैंकले ब्याजदरको विषयमा चासो नदेखाएको भए र अंकुश नलगाएको भए मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशत माथि हुने थियो भन्दै १० प्रतिशत तल झारिएको र ब्याजदर बढेको मात्र होइन, घटेको कुरा पनि हेर्न पत्रकारहरुलाई सुझाव दिए ।

व्याजदरकै कारण बचत र लगानीबीच तालमेल मिलाउन आवश्यक रहेको उल्लेख गर्दै उनले आर्थिक समृद्धिका लागि समेत ऋणको माग उच्च भएकोले नै सरकारले बैंकहरुलाई बिदेशबाट कर्जा ल्याउने बाटो खोलिदिएको तर्क गरे । 

उनले भने-'हामीलाई ७-८ प्रतिशतको आर्थिक वृद्धिदर पनि चाहिएको छ । औद्योगिक वस्तुको आयात पनि गर्नुपर्नेछ, अनि फेरि बैंकको कर्जा पनि सस्तो हुनुपर्छ भन्छौ । यी सबै कुरा एकैपटक कसरी संभव हुन्छ ?'

अर्थमन्त्री खतिवडाले देशमा ६ प्रतिशतमा ऋण पाइएला र ऋण लिएर गाडी कुदाउँला भन्ने सोंच त्याग्न आग्रह गरे । 

ब्याजदर घटाउन आन्दोलन गरेका व्यवसायीतर्फ इंगित गर्दै उनले ६-७ प्रतिशतमा ऋण पाउनका लागि निक्षेपमा २ प्रतिशत मात्र ब्याज दिनुपर्ने अवस्था आउने बताए । उनले यो वर्षको अन्तसम्म स्प्रेडलाई ४ प्रतिशतमा सीमित गरिने उल्लेख गर्दै भने, त्यसो हुँदा ऋणमा लिने र निक्षेपमा दिने ब्याजको अन्तर ४ प्रतिशत भन्दा बढी हुन पाउँदैन । यसो हुँदा ऋणमा ६ प्रतिशतको ब्याजदर लगाउँदा बचतकर्ताले २ प्रतिशत मात्र पाउँछ ।  अनि के बचतकर्ताको क्रयशक्तिलाई घटाउनेतर्फ लाग्ने ? ५ प्रतिशत नै मुद्रास्फिति दर मान्दा पनि १०० रुपैयाँ जम्मा गर्नेको पैसा त झनै खिइने भयो नि । के हामीले यस्तै अर्थव्यवस्थाको परिकल्पना गरेका हौ त ?'