वासिङ्टन (रासस/एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलको विरुद्धमा मङ्गलबार पुनः आक्रोश व्यक्त गर्नुभएको छ । बैंक ब्याजदर वृद्धिको पक्षमा उभिनुभएका पावेलका कारण आर्थिक वृद्धिमा जोखिम आउने खतरा रहेको राष्ट्रपति ट्रम्पको आरोप छ । 

अमेरिकी अखबार वालस्ट्रिट जर्नललाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले पावेललाई बैंकको अध्यक्ष बनाएर गल्ती गरेको समेत बताउनुभयो । “हरेक पटक हामीले ठूलै कदम चालेका हुन्छौं, तर उनी (पावेल) ब्याजदर बढाउँछन्,” उहाँले भन्नुभयो । 

राष्ट्रपति ट्रम्पले आक्रोशित हुँदै भन्नुभयो, पावेललाई ब्याजदर बढाउनुमा नै सन्तोष लागेकोजस्तो देख्दैछु । 

उहाँले गत साता पनि केन्द्रीय बैंक (फेडरल रिजर्भ) नै आफ्ना लागि सबैभन्दा ठूलो खतरा रहेको बताउनुभएको थियो । राष्ट्रपति ट्रम्पले पावेलको हिँडाई आफूले सोचेभन्दा धेरै छिटो रहेको प्रतिक्रिया दिनुभयो । 

यसैवर्ष मात्र केन्द्रीय बैंकले अर्थतन्त्रलाई नियन्त्रणमा राख्न भन्दै ब्याजदर तीनपटक वृद्धि गरिसकेको छ । डिसेम्बरमा पुनः ब्याजदर शून्य दशमलब २५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । 

अमेरिकी राष्ट्रपतिहरुले विगतमा बैंकको स्वतन्त्रतालाई सम्मान गर्दै ब्याजदरजस्ता विषयमा मौन रहने गर्दथे । तर राष्ट्रपति ट्रम्पले बैंकका नीतिहरुमाथि कडा टिप्पणी गरिआउनुभएको छ । 

अमेरिकी केन्द्रीय बैंकका अध्यक्षको पदावधि चार वर्षको हुन्छ, र पावेलको पदावधि यसै वर्षको फेब्रुअरीबाट शुरु भएको हो । ट्रम्पले भन्नुभयो– उहाँ (पावेल) न्यून ब्याजदर रुचाउने व्यक्ति हुनुहोला भन्ने मेरो सोचाई थियो । तर उहाँ त त्यस्तो होइन रहेछ । 

राष्ट्रपति ट्रम्पको विचारमा केन्द्रीय बैंकले अमेरिकी अर्थतन्त्रमा ठूलो चुनौती खडा गरेको छ, र ब्याजदर उच्च हुँदा अर्थतन्त्रको वृद्धि न्यून हुने र राष्ट्रिय ऋणको भार बढ्ने हुन्छ । 

“मेरा लागि अहिले बैंकको नीति सबैभन्दा ठूलो जोखिम हो, किनभने मेरो विचारमा ब्याजदरमा चाँडोचाँडो वृद्धि गरिएको छ,” ट्रम्पले भन्नुभयो । 

अमेरिकी आर्थिक वृद्धि दोस्रो चौमासिकमा ४.२ प्रतिशत पुगेको छ र यो चारवर्ष यताकै सबैभन्दा उच्च हो ।