काठमाण्डौ । देशको कान्छो वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंकले संभावित जोखिम व्यवस्थापनका लागि ३४ करोड ५६ लाख बढी छुट्याउनु परेपछि खूद नाफा घटेको वित्तीय विवरण प्रकाशन गरेको छ । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म बैंकको खूद नाफा ६१ करोडमा सीमित बन्न पुगेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ६७ करोड १५ लाख थियो । यसरी संभावित जोखिम व्यवस्थापनका लागि ठूलो रकम छुट्याउनु पर्दा बैंकको नाफा ९.०६ प्रतिशत घटेको देखिएको छ।

बैंकको संचालन मुनाफा समेत ९३ करोड ६६ लाखबाट घटेर ८७ करोड ३३ लाखमा सीमित भएको छ । 

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३४करोड ५९ लाख रुपैयाँ रहेको छ । 

ठूलो रकम प्रोभिजनमा छुट्याउनु पर्दा नाफा घटेको देखिए पनि बैंकको व्यवसाय बिस्तारमा भने छलाङ मारेको देखिन्छ । यहीकारण अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ३५ करोडमा सीमित खूद ब्याज आम्दानी ४५.२६ प्रतिशतले बढेर १ अर्ब ९७ करोडको उचाईमा पुगेको छ । 

बैंकले समीक्षा अवधिमा ५७ अर्ब ८२ करोड निक्षेप संकलन गरी ५७ अर्ब ३९ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप २२.८९ प्रतिशतको प्रगति गरेको यो बैंकले कर्जा बिस्तारतर्फ १९.७२ प्रतिशतको प्रगति गरेको छ । निक्षेप र कर्जातर्फको बिस्तारमा बैंकको मुभ निकै सन्तुलित देखिएको छ।

बैंकले आफ्नो रिजर्ब कोषमा समेत छलाङ मारेको छ। अघिल्लो वर्षको यही अवधिमा ६५ करोड ९६ लाखमा सीमित रिजर्बको आकार ७९.३२ प्रतिशतले बढाएर १ अर्ब १८ करोडको उचाई चुमाएको हो। 

बैंकमा अघिल्लो वर्षको यही अवधिसम्म ०.७६ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर १.५३ प्रतिशत पुगेको छ भने ८.८८ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर ८.४७ प्रतिशतमा सीमित भएको छ। 

बैंकको अघिल्लो वर्ष १२.०६ प्रतिशत रहेको आधारदर घटेर ११.३२ प्रतिशतमा सीमित भएको छ भने ११.१० रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) ९.८७ रुपैयाँ कायम भएको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२४.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.२३ गुणा कायम भएको छ।