काठमाण्डौ । आफ्नो ब्राण्डको प्रवद्र्धनका लागि बैंक तथा विभिन्न कर्पोरेट हाउसहरुले चलेका खेलका खेलाडी, चलेका सेलिब्रेटीलाई छनौट गर्ने गर्दछन् । पछिल्लो समय फुटबल र क्रिकेटमा चम्किएका खेलाडी तथा फिल्मी क्षेत्रका सेलिब्रेटीहरु ब्राण्ड एम्बेस्डरका लागि उनीहरुको रोजाईमा पर्ने गर्छन् । तर, माछापुच्छे बैंकले भने ब्राण्ड एम्बेस्डर छनौटमा केही पृथक अभ्यास गरेको छ । 

यो बैंकले चर्चामा नआउने खेलमा स्थापित ३ खेलाडीलाई ब्राण्ड एम्बेस्डरको रुपमा घोषणा गरेको हो । 

बैंकले शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरी अल्टा धावक मिरा राई, गल्फर प्रतिमा शेर्पा र १३ वर्षीय टेनिस खेलाडी आर्यन गिरीलाई एक वर्षका लागि ब्राण्ड एम्बेस्डरको रुपमा अनुबन्धित गरिएको घोषणा गरेको हो । 

खासै नचलेका खेलका तीन खेलाडीलाई ब्राण्ड प्रवद्र्धनका लागि नियुक्त गरी आफूहरुले केही फरक अभ्यासको सुरुवात गरेको सो क्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले दाबी गरे । ‘खेलाडीहरुको छनौट गर्दा समेत अधिकांश कर्पोरेट हाउसहरु फुटबल र क्रिकेटमा बढी इन्गेज देखिन्छन् ।’ उनले थपे–‘हामीले फरक क्षेत्रका खेलाडीलाई प्रोमोट गर्न खोजेका हौ ।’ 

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संचालक समितिका अध्यक्ष रोशन केसीले आउँदा दिनमा आफूहरुले शाखा बिस्तारलाई प्राथमिकता दिने बताए । संस्थागत सुशासनलाई समेत ध्यान दिई अगाडि बढेको बैंकलाई अझै दुर्गम क्षेत्रमा पुर्याउने योजना पनि उनले सुनाए । 

कार्यक्रममा बोल्दै बैंकका पूर्व अध्यक्ष डा. वीरेन्द्रकुमार महतोले तीन खेलाडीलाई ब्राण्ड एम्बेस्डरमा छनौट गर्नुका कारणको बिषयमा चर्चा गरेका थिए । उनले १८ वर्षअघि क्षेत्रीय स्तरको बैंकको रुपमा स्थापित माछापुच्छेलाई उत्कृष्ट बैंक बनाइने घोषणा समेत गरेका थिए । उनले आफूहरुले बैंकिङ समेत फरक ढंगले नै गरिरहेको दाबी गरे ।

बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीले क्रमशः आफ्नो यात्रा, कठिनाई एवं चुनौतीहरु, सफलताहरु, र भावी योजनाहरु बारे मन्तव्य ब्यक्त गरेका थिए  ।

मिरा राई नेपाली म्याराथनको एक चर्चित नाम हो । विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसक्नुभएको मिरा राईले देश र विदेशमा थुप्र्रै उपाधि जितेकी छिन् । राईले २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा पहिलो स्थान हासिल गर्न सफल भएकी थिइन् । विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी नेपाली धाविका मिरा राई नेसनल ज्योग्राफिकले २०१७ मा सार्वजनिक गरेको ‘एड्भेन्चर अफ द इयर‘को उपाधि समेत जित्न सफल खेलाडी हुन् ।

त्यसैगरी, प्रतिमा शेर्पा नेपालको नम्बर १ महिला गल्फर हुन् । रोयल नेपाल गल्फ क्लबमा हुर्किएकी शेर्पाले १५ वर्षकै उमेरदेखि खेलको प्रशिक्षण लिन थालेकी थिइन् । सानो उमेरमै लगातार उपाधि जित्न सफल भएपछि उनको चर्चा स्वदेशी मात्र नभएर विदेशी मिडियामा पनि भएपछि उनले पूर्व विश्व नं. १ टाईगर उड्सलाई समेत भेट्ने अवसर प्राप्त गरेकी थिइन् । उनको दुईमहिने अमेरिका भ्रमणका दौरान ईएसपीएनले उनीमाथि एक वृतचित्र समेत निर्माण गरेको थियो ।

आर्यन गिरी अर्का १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन्। ६ वर्षको कलिलै उमेरदेखि टेनिस शुरु गर्नुभएको गिरी बर्न सर्भाइभर हुन्। उनले नेपाल अन्डर १४को नम्बर १ र एशिया अन्डर १४ मा नम्बर २९ स्थान बनाउन सफल खेलाडी हुन् । उनी आफ्नो मेहेनत र परिश्रमले एशियाकै नम्बर १ हुने लक्ष्य राखेका छन् ।